कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै

रासस

बुधबार, ०८ बैशाख २०७८, १५ : ५२
कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै

काठमाडौं । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाइएको छ । अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ । 

कोटेश्वर–कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका युनिट चिफ कृष्णनाथ ओझाले बताए । चीन सरकारको सहयोगमा केही वर्ष पहिले विस्तार भएको यो खण्ड उपत्यकामा सवारी दुर्घटना बढी हुने सडकमध्येको हो । उनका अनुसार यो सडकमा ट्राफिक बत्ती जडान चालू आवमा ठेक्का लागेर अर्को वर्ष काम हुनेछ । यसका लागि बजेट छुट्टाइएको उनको भनाइ छ । उनले भने , “यो वर्ष शुरु भएपछि अर्को वर्ष चार÷पाँच महिनामा सकिन्छ ।” 

केही वर्ष पहिलेसम्म पनि काठमाडौँ उपत्यकामा कुनै पनि स्थानमा ट्राफिक बत्तीले काम नगरेकामा विभाग आफैँले केही वर्षयता गरेर झण्डै १९ ठाउँमा बत्ती जडान गरिसकेको छ ।विभागलाई स्थानीय तहलगायत अरु निकायले जडान गरेकामा सम्पर्क नगरी जडान भइरहेको युनिट चिफ ओझाले जानकारी दिए। अहिलेसम्म बत्ती जसजसले जडान गरेको छ उसले ‘सिस्टम’ आआफ्नो तरिकाले राख्ने गरेको उनले  जानकारी दिए। उनका अनुसार जेठसम्म मर्मत अवधि भएकाले त्यसपछि ‘सिस्टम’ विभागलाई हस्तान्तरण हुनेछ । 

विभागले जडान गरेका ठाउँमा पनि ‘मर्मत अवधि’ चलिरहेकाले अहिलेसम्म त्यसको ‘सिस्टम’ आउन बाँकी छ । जडान गर्ने कम्पनीले हस्तान्तरण गरेपछि केही अपडेट गर्नुपर्ने उनले बताए । ‘प्रोग्राम’ नियन्त्रणको काम विभागको हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस