कोरोना कहरसँगै देशभरका चलचित्र भवन बन्द

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, ११ : ४१
कोरोना कहरसँगै देशभरका चलचित्र भवन बन्द

काठमाडौंँ । देशभरका चलचित्र घर अहिले फेरि बन्द भएको छ । दोस्रो लहरको कोरोना जोखिम बढेसँगै नेपाल सरकारले वैशाख महिनाभरिका लागि देशभरका चलचित्र घर फेरि बन्द गर्ने निर्णय गरेको हो ।

केही अगाडि खुलेपनि राम्रोसँग प्रदर्शनको माहोल नबन्दै चलचित्र घर फेरि बन्द भएका छन् । चलचित्र घर बन्दले फिल्मको प्रदर्शन रोकिएको छ । फिल्मको प्रदर्शन रोकिए पनि छायाँकन र निर्माण भने अहिले पनि सुचारु रहेको छ । अहिले केही फिल्म छायाँकनका लागि फ्लोरमा छन् भने केही निस्कने तयारी छन् ।

गत सोमबार मात्रै दुई फिल्म ‘प्रेमगन्ज’ र ‘बाबरी’ छायाँकनका लागि फ्लोरमा निस्किएको छ । परिच्छेद सेनको निर्देशन  र बेनिशा हमाल,  तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाललगायतका कलाकारको मुख्य अभिनय रहने प्रेमगन्ज फिल्मले काभ्रेबाट छायाँकन थालेको हो ।

त्यस्तै ‘बाबरी’ले पूर्वबाट छायाँकन थालेको छ । सुरेन्द्र पौडेलको निर्देशन रहने ‘बाबरी’मा धीरज मगर र अभिनेत्री अदीति बुढाथोकीको मुख्य भूमिका रहनेछ । फिल्म ‘दोख’ युनिट पनि अहिले अहिले छायाँकनकै लागि जुम्ला पुगेको छ । अन्य केही फिल्म समेत छिट्टै छायाँकनका लागि फ्लोरमा निस्कने तयारीमा छ ।

जसमा मौनताको ‘आँधि तुफान २’, रोहित रुम्बाको ‘लाल मोहन जी’,  दीपक श्रेष्ठको ‘घिन्ताङ’, अरुण खड्काको ‘फटा फणिन्द्रे’लगायत रहेका छन् । कोरोनाको दोस्रो लहरले फिल्म हल बन्द भएपनि छायाँकनलाई भने केही प्रभाव नपारेको देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस