सरकारले स्मार्ट सिटीको सुचीबाट भरतपुरलाई हटायो, राजनीति पूर्वाग्रह नराखी निर्णय सच्याउन मेयर रेनु दाहालको आग्रह

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, ०९ : ५३
सरकारले स्मार्ट सिटीको सुचीबाट भरतपुरलाई हटायो, राजनीति पूर्वाग्रह नराखी निर्णय सच्याउन मेयर रेनु दाहालको आग्रह

चितवन । तीन वर्ष अघि नै भरतपुर महानगरपालिकालाई सरकारले स्मार्ट सिटीको सुचीमा राखेको थियो । स्मार्ट सिटीको सुचीमा परेदेखि नै भरतपुर महानगरले स्मार्ट सिटीको गुरुयोजना बनायो । दक्ष प्राविधिकहरु राखेर स्मार्ट सिटीको नक्सा तयार पारियो । तीन वर्षदेखि नै भरतपुर महानगर स्मार्ट सिटी बनाउन आन्तरिक स्रोत साधन परिचालन गरिरहेको छ । 

तर एकाएक सरकारले नै भरतपुर महानगरलाई स्मार्ट सिटीको सुचीबाट हटाएको खबरले सारा भरतपुरवासी नै चिन्तित भएका छन् । तीन वर्षदेखि नै सरकारले देशका १३ वटा स्थानलाई स्मार्ट शहरका रूपमा विकास गर्ने घोषणा गरेको थियो, जसमा बाराको निजगढ, गोरखाको पालुङटार, रुपन्देहीको लुम्बिनीलाई पहिलो चरणमै स्मार्ट सिटीमा लैजानै निर्णय गरेको थियो । 

यसैगरी धनकुटाको धनकुटा, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेपलाञ्चोकको काभ्रे, चितवनको भरतपुर, स्याङ्जाको वालिङ, दाङको तुलसीपुर, दैलेखको दुल्लु, डडेल्धुराको अमरगढी, कैलालीको टीकापुरलाई स्मार्ट सिटीका रूपमा विकास गरिने सरकारको घोषणा थियो ।  गत चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले भरतपुरलाई स्मार्ट सिटीको सुचीबाटै हटाएको छ । बैठकले सिरहाको मिर्चैयालाई पनि स्मार्ट सिटीको सुचीबाट हटाएको छ ।

यसअघि नभएको झापाको गौरीगंज र रौतहटको मौलापुरलाई मन्त्रिपरिषदको बैठकले स्मार्ट सिटीको सुचीमा थपेको छ । कैलालीको टिकापुर, बाराको निजगढ र गोरखाको पालुङटारलाई पनि स्मार्ट सिटीको सुचीबाट हटाइएको छ । भक्तपुरको गुण्डु–बालकोट क्षेत्रलाई पनि यस पटक स्मार्ट सिटीको सुचीमा राखिएको छ ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि स्मार्ट सिटीमा परेको भरतपुरलाई पछिल्लो समय बसेको मन्त्रिपरिषदको बैठकले सुचीबाट हटाउनु अत्यन्तै आपत्तिजनक भएको बताइन् । उनले भनिन्, ‘राजनीतिक पूर्वागही भएर हटाइएको हो, यो खेदजनक छ । यो निर्णय तत्काल सच्याइयोस् ।’ 

प्रमुख दाहालले तीन वर्षदेखिको सपना चक्नाचुर भएको बताइन् । उनले भनिन्, ‘सारा तयारी भइरहेको छ, महानगरले गुरुयोजना बनाएको छ । आन्तरिक स्रोत परिचालन भएको छ, तर बजेट आउने बेलामा सुचीबाट हटाइनु राजनीतिक पूर्वाग्रही  साँचिएको प्रष्ट देखिन्छ ।’ उनले अझै पनि भरतपुर महानगरलाई स्मार्ट सिटीको सुचीभित्रै राखेर बजेट पठाउन आग्रह गरिन् । प्रमुख दाहालले भनिन्, ‘सरकारले गल्ती गरेको छ, म सच्याउन माग गर्दछु ।’ उनले अन्य स्रोतबाट भए पनि भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउन लागिपर्ने बताइन् । उनले भनिन्, ‘पालो सबैको आउँछ, यसपटक स्मार्ट सिटीको अवसर गुमेपनि निरन्तर लाग्नेछु ।’

२०७५ सालमा स्मार्ट सिटीको उच्च प्राथमिकतामा परेको भरतपुर कसरी सुचीबाट हट्यो आफू अचम्ममा परेको महानगर प्रमुख दाहालको भनाइ छ । उनले आगामी दिनमा स्मार्ट सिटीको अवधारणा नरोकिने बताइन् । उनले भनिन्, ‘तत्काललाई सरकारले स्मार्ट सिटी हुनबाट रोकेको छ, तर भरतपुरवासीले रोक्ने छैनन् । भरतपुर अवश्य स्मार्ट सिटी बन्छ ।’ स्मार्ट सिटीको गुरुयोजनाको मस्यौदा प्रतिवेदन बनाउने र घरधुरी सर्वेक्षणको काम सकिएको महानगरले जनाएको छ । केही दिनमै गुरुयोजनाको अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने तयारी गर्दैगर्दा सुचीबाट हटाइनु आफैँमा खेदजनक रहेको महानगरको भनाइ छ । 

नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले पनि राजनीति पुर्वाग्रहले स्मार्ट सिटीबाट भरतपुरलाई हटाएको आरोप लगाए । उनले भने, ‘पहिला सुचीमा पार्ने, अहिले किन हटाउने ? कारण के हो ? राजनीति पूर्वाग्रह देखियो ।’ उनले पनि तत्काल सच्याएर भरतपुरलाई स्मार्ट सिटीमा नै राख्नुपर्ने बताए ।  नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पनि भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउनुपर्ने बताए । उनले भने, ‘पहिला छनौट गर्ने, पछिल्लो समय छोड्ने यो त सरकारको नियत ठीक भएन ।’ 

चितवनका निजी क्षेत्रले भरतपुरलाई स्मार्ट सिटीबाट हटाउन नहुने बताएको छ । निजी क्षेत्रलाई भरतपुरको विकासलाई अगाडि बढाउन सरकारले पहिलोको घोषणालाई कार्यान्वयन गर्दै लैजानुपर्ने जनाएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले भरतपुरलाई स्मार्ट सिटीमा पुनः समेट्नुपर्ने बताए । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल सरकारले नीतिगत त्रुटि गरेको भए सच्याउनुपर्ने बताए । 

हटेको छैन, भरतपुरमा अन्य योजना धेरै छन् : मन्त्रालय 
सहरी विकास मन्त्रालयले भरतपुरलाई स्मार्ट सिटीको सुचीबाट नहटाएको जनाएको छ । मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार अग्रवालले यसअघि स्मार्ट सिटीमा परिसकेका सहरहरुलाई हटाउन नमिल्ने बताए । उनले भने, ‘यस पटक बजेट नपुगेर भरतपुरमा नगएको हुनसक्छ, अर्को पटक बजेट जान सक्छ । तर सूचीबाट हटेको छैन ।’ 

उनले अन्य जिल्लाको तुलनामा भरतपुरमा सहरी विकासका धेरै कार्यक्रमहरु रहेको बताए । उनले भने, ‘अन्य बजेट हेर्नुहोस् त भरतपुरको, कतै नगएको बजेट भरतपुरमा गइरहेको छ, अन्य थुप्रै विकासका बजेट भरतपुरमा लागि पठाइरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस