काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ। संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन् ।
बाँकी ३२ सांसदमध्ये पूर्वराष्ट्रिय जनता पार्टीबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन्। गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो । जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वसमाजवादीका केही सांसदले पूर्वराजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई साथ दिएका छन् ।
जसपामा यादव र ठाकुर दुवै अध्यक्ष छन्। ओलीसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले र कुनै पनि अवस्थामा ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गरेका छन्। पूर्वराजपा अध्यक्षमण्डलका ६ जनामध्ये महेन्द्र यादवले मात्र उपेन्द्रलाई साथ दिएका छन् । यसैगरी उपेन्द्रलाई जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरू राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रामबावु यादव, लिला सिटौलालगायतले साथ दिएका छन्। पार्टीका नेता सूर्यनारायण यादव र सुरेन्द्र यादव एक ठाउँमा छन्।
सुरेन्द्र संघीय परिषद् अध्यक्ष भट्टराइसँग निकट मानिन्छन् । पार्टीभित्र रेणु यादव, इस्तियाक राई र प्रदीप यादवको छुट्टै गुट छ। उनीहरू पूर्वसमाजवादीका भए पनि उपेन्द्रको पक्षमा खुलेका छैनन्। राईले आफू न उपेन्द्र पक्ष न महन्थ पक्षधर भएको बताए। ‘म न महन्थ ठाकुर पक्षको हुँ, न उपेन्द्र यादव पक्षको हुँ।
पार्टी सामूहिक नेतृत्वमा चल्नुपर्छ भन्ने लाइनमा म छु’, राईले भने, ‘जसपा कुनै व्यक्ति विशेषको पार्टी होइन । पार्टी बनाउन सबैको योगदान उत्तिकै छ।’ पूर्वसमाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरैया, रुहीनाज र विमल श्रीवास्तवले पार्टीका माग पूरा गरे ओलीसँग मिल्न सकिने धारणा राख्दै आएका छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता