कर्णालीमा ह्वीप उल्लंघन गर्ने सांसदमाथि तत्कालै कारवाही अघि बढ्छ : ईश्वर पोखरेल

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १८ : ५१
कर्णालीमा ह्वीप उल्लंघन गर्ने सांसदमाथि तत्कालै कारवाही अघि बढ्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्रको सरकार जोगाउने सांसदहरुमाथि तत्कालै कारवाही प्रक्रिया शुरु हुने बताएका छन् ।

महासचिव पोखरेलले ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई पार्टी विधान र देशको विद्यमान ऐन कानुन बमोजिम कारवाही हुने बताए ।महासचिव पोखरेलले भने, यो कुरालाई पार्टीले गम्भीर रुपमा लिएको छ । विधान र कानुन बमोजिम सम्बन्धित व्यक्तिहरु कारवाहीमा पर्छन् ।एमालेको संशोधिन बिधानले प्रदेशसभाका सदस्यहरुलाई कारवाही गर्ने अधिकार समेत अध्यक्ष केपी ओलीलाई नै दिएको छ ।

विधान र ऐनका प्रक्रिया पूरा गरेर प्रकाश ज्वाला, कुर्मराज शाही, अम्बर बहादुर थापा र नन्दसिंह बुढालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरिने एमालेले जनाएको छ ।अन्तिममा मत सच्याएकी देवी ओलीलाई पनि स्पष्टिकरण सोधेर कारवाहीको प्रक्रिया अघि बढाइने भएको छ ।