दीपक मनाङेले पनि पृथ्वीसुब्बा गुरुङको साथ छोडे

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १४ : १६
दीपक मनाङेले पनि पृथ्वीसुब्बा गुरुङको साथ छोडे

file Photo

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्दै आएका प्रदेशसभाका स्वतन्त्र सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले पनि अन्तिम समयमा आएर साथ छाडेका छन् । स्वतन्त्रता मनाङ ‘ख’ बाट निर्वाचित मनाङेले यसअघि गुरुङ नेतृत्वको सरकारलाई समर्थन गरेको भएपनि अब, उनलाई समर्थन नगर्ने घोषणा गरेका हुन् । 

गुरुङ नेतृत्वको सरकार विरुद्ध अहिले प्रदेशमा माओवादी केन्द्रका १२, काँग्रेसका १५,राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद खुलेर लागेका छन् । नयाँ सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । तर, चार पार्टी मिल्दा उनीहरुको पक्षमा ३२ सांसद हुन्छन्  ।

यसैबीच बिहीबारै नयाँ गठबन्धनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

चार दलको मोर्चा मुख्यमन्त्री विरुद्ध उभिएपछि गुरुङ अल्पमतमा परेका छन् । 

अंक गणितीय हिसाबले अहिले मुख्यमन्त्री गुरुङ प्रष्ट अल्पमतमा परेपछि उनले चालु संसद अधिवेशन अन्त्य गरेर सरकारको आयु केही दिन लम्याएका छन् । 

प्रतिक्रिया दिनुहोस