प्रधानमन्त्री ओलीको कोरोना टिप्स : अम्बाका पात उमाल्दिऊँ,  बेसरी गालगुल गरिदिऔँ कोरोना चट

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १६ : ५०
प्रधानमन्त्री ओलीको कोरोना टिप्स : अम्बाका पात उमाल्दिऊँ,  बेसरी गालगुल गरिदिऔँ कोरोना चट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमणसँग लड्ने टिप्सहरु दिएका छन् । कोरोनाको संक्रमण बढिरहँदा जोखिम बढेको भन्दै सावधानी अपनाउन उनले आग्रह गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेको बताए । प्रधानमन्त्री ओलीले पुरानै कुरा भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए।

उनले सावधानी नअपनाए जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्ने बताए । उनले भने, तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिन्छ ।’ 

उनका अनुसार तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि भाग्छ । प्रधानमन्त्री ओलीले भने, ‘नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुइटा पात उमाल्दिऊँ बेसरी गालगुल गरिदिऊँ, घाँटीमा बसेको कोरोना चट, स्टिम लिइदिऊँ, फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। 

आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ। निःशुल्क खोप लगातार चलाइएको छ तर पनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ भने कोभिड जहाँ लागे पनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेट्नु परेन।’

प्रतिक्रिया दिनुहोस