पहिलोपटक वित्तीय पहुँच र ऋण खाताबारेको विवरण सङ्कलन गरिँदै : राष्ट्रिय जनगणना

रासस

विहीबार, २६ चैत्र २०७७, ०९ : २५
पहिलोपटक वित्तीय पहुँच र ऋण खाताबारेको विवरण सङ्कलन गरिँदै : राष्ट्रिय जनगणना

सुदूरपश्चिम । राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्याङ्क सङ्कलन गरिँदै छ ।

यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी विस्तृत विवरणसमेत सङ्कलन गर्ने तयारी भइरहेको छ ।

तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले यो पटकको जनगणना कार्य यसअघिका जनगणनाको तुलनामा फरक र विस्तृत ढङ्गले गर्न लागिएको बताए । उनले भने , “जनगणना कार्यका लागि कैलाली जिल्लामा दुई सहित सुदूरपश्चिम प्रदेशभरी ३७ वटा स्थानीय जनगणना कार्यालय स्थापना भइरहेको छ ।”

 जनगणनाको आवश्यक पूर्वतयारीका लागि धनगढीमा तालीम गोष्ठी सञ्चालन भइरहेको छ । पूर्वतयारीस्वरूप सुपरीवेक्षक तालीम, इलाका जनगणना अधिकारीको तालीम, प्रशिक्षकका रूपमा शिक्षकलाई तालीमजस्ता कार्य भइरहेका छन् । जनगणनाका लागि वैशाख २६ देखि जेठ १४ गतेसम्ममा घरपरिवारको सूचीकरण गर्ने तयारी छ ।

जनगणनाका क्रममा  सामुदायिक प्रश्नावलीमार्फत वडास्तरका तथ्याङ्क सङ्कलन जस्तै कृषि र गैरकृषि उत्पादन र यसको निर्यातको अवस्था, वडाको प्रमुख राजस्वको स्रोत, सीमान्तकृत लोपोन्मुख जात, वडामा भौतिक, स्वास्थ्य र सामाजिक सुविधाका साथै विपद् जोखिमको अवस्था र पुग्ने गरेको क्षति, वन्यजन्तु, जङ्गली जनावरबाट पुग्ने गरेको क्षतिको विवरण समेत सङ्कलन हुँदैछ । 
 
सामुदायिक प्रश्नावलीको उत्तरदाताका रूपमा वडाध्यक्ष वा वडासचिव रहने छन् । गणना कार्य आगामी जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ । राष्ट्रिय जनगणना, २०७८ देशभरका घर दैलोमा निश्चित समयभित्र पुगी सबै घर, परिवार तथा व्यक्तिको विवरण सङ्कलन गर्ने र सङ्कलित तथ्याङ्कको प्रशोधन एवं प्रकाशन गर्ने बृहत् राष्ट्रिय कार्यक्रम हो । नेपालमा पहिलोपटक जनगणना विसं १९६८ देखि शुरु भएको हो । 
 

प्रतिक्रिया दिनुहोस