नेपाल पत्रकार महासंघको मतगणना जारी, विपुल पोख्रेल प्यानलको अग्रता

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, ०९ : १२
नेपाल पत्रकार महासंघको मतगणना जारी, विपुल पोख्रेल प्यानलको अग्रता

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहदा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता कायम राखेको छ ।

विभिन्न जिल्लाहरुमा मतगणना जारी रहेको छ भने केही जिल्लाको गणना सकिदा कांग्रेस–माओवादी–माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलले अग्रता लिएको हो ।

एमाले निकट प्रेस चौतारीको निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा मात्र अग्रता लिइरहेको छ । अध्यक्षका अर्का प्रत्याशी गजेन्द्र बुढाथोकीले न्यून मत प्राप्त गरेका छन् ।

दलीय गठबन्धनको प्रभाव हरेक जिल्लामा देखिएको छ । प्यानलभन्दा बाहिर कमैमात्र मत खसेको मतगणनामा सहभागी पत्रकार नेताहरुले बताएका छन् ।

ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोट लगायतका जिल्लामा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । लुम्विनीका अधिकांश जिल्लामा पोखरेलको अग्रता छ भने सुदूरपश्चिमका जिल्लाहरुमा पनि पोखरेल प्यानलकै अग्रता छ ।

भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली लगायतका जिल्लामा निर्मला शर्माको प्यानलले अग्रता लिएको छ । गण्डकीका जिल्लाहरुमा प्रतिस्पर्धा छ । विभिन्न जिल्लाहरुमा अलग अलग मतगणना भइरहेकाले एकीकृत मतसंख्या आउन बाँकी रहेको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस