काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन्। ओलीले नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन्। नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैंले मनाउने प्रयास गरेका छन्।
आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन्। उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन्।
‘प्रधानमन्त्रीज्यूले विभिन्न माध्यमबाट हामीसँग कुराकानी अघि बढाउनुभएको छ। यद्यपि उहाँहरूको कुरा खास अर्थपूर्ण छैन’, नेपाल पक्षका एक नेताले भने। ओलीले नेपाल पक्षका नेतासँग अलगअलग कुराकानी गरिरहेका बेला शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी खनाललाई भेट्न पुगेकी थिइन्। खनालको स्वास्थ्यअवस्था बुझ्ने बहानामा निवासमै पुगेकी भण्डारीले एमालेलाई विभाजन हुन नदिन खनालको भूमिका हुनुपर्नेमा जोड दिएकी थिइन्।
डल्लुस्थित इतिहासकार महेशराज पन्तको पुस्तकालय अवलोकन गर्ने कार्यक्रम तय गरेर खनाललाई भेट्न पुगेकी भण्डारीले ओलीलाई सहयोग पुग्नेगरी पार्टी एकतामा जोड दिएकी थिइन्। ‘एमाले विभाजित हुनुहुँदैन। सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी भएकाले पनि एमालेलाई एकताबद्ध बनाउने काममा तपाईंको भूमिका मुख्य रहन्छ। सकेसम्म पार्टी एकताबद्ध बनाउने जिम्मा तपाईंको पनि हो’, राष्ट्रपति भण्डारीले खनालसँग भनेकी थिइन्। खनाल पार्टी अध्यक्ष भएका बेला भण्डारी उपाध्यक्ष थिइन्। त्यसकारण पनि ओली–खनाल मिलेर जानुपर्ने उनको संकेत थियो।
दोस्रो पटक राष्ट्रपति हुने बेलामा भण्डारीले खनालसँगै लामै कुराकानी गरेकी थिइन्। त्यसपछि भने उनीहरूबीच खासै कुराकानी भएको थिएन। त्यति बेला खनालले पनि राष्ट्रपति बन्न इच्छा देखाएका थिए तर पाएनन्। त्यसपछिका तीन वर्ष उनीहरूबीच भेटघाट र कुराकानी भएको थिएन। शनिबार अचानक खनाललाई भेट्न पुगेकी भण्डारीले उनीसँग एक घण्टा कुरा गरेकी थिइन्।
खनालको स्वास्थ्य अवस्थाबाट सुरु भएको कुराकानीमा मुलुकको स्वास्थ्य अवस्था हुँदै पार्टीको आन्तरिक जीवनमा आएको संकटबारे छलफल भएको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली