ओलीले दिएको आश्वासन टाठपल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै होः नेता श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, १९ : ५६
ओलीले दिएको आश्वासन टाठपल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै होः नेता श्रेष्ठ

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका  नेता राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले दिएको आश्वासन टाठपल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै भएको बताएका छन् । जनता समाजवादीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमा उनले यस्तो बताएका हुन् ।

श्रेष्ठले प्रतिनिधिसभा पुनस्र्थापनापछि प्रधानमन्त्री एकपटक पनि प्रतिनिधिसभाको बैठक कक्षमा प्रवेश नगरेको मात्र होइन हिउँदे अधिवेशनको मुख्य काम विधेयक पारित गर्नु भएता पनि सरकारले आजसम्म एउटा विधेयक पनि प्रतिनिधिसभामा प्रस्तुत नगरेको बताए । 

उनले भने ‘सरकारले संसदका विभिन्न समितिहरूले पठाएको विधेयक रोकी राख्ने अनि पुनर्स्थापित संसदले प्रभावकारी काम गर्न सकेन भन्दै भ्रम छर्नु ुजो चोर उसैको ठूलो स्वरु भनेजस्तो भयो’ ।

आफूले असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटनका लागि चालेको कदम ठीक छ भन्ने जनतामा सन्देश दिन प्रधानमन्त्रीले प्रतिनिधिसभाका समितिहरूले प्रतवेदनसहित पठाएका विधेयकहरू हाउसमा प्रस्तुत नगरेकोमा आक्रोश पोख्दै उनले भने, ‘प्रधानमन्त्रीमा संसदको सामना गर्ने हिम्मत देखिएन । त्यसैले उनले नैतिकताको आधारमा राजिनामा गर्नु पर्छ ।’

पार्टीको कार्यकारिणी सदस्य रहेका नेता श्रेष्ठले नेपालमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरणजस्ता युगान्तकारी परिवर्तनका क्षेत्रहरूमा प्राप्त सीमित उपलब्धीहरू पनि ओली शासनमा धरापमा परेको हुँदा अहिलेको पार्टीको मुख्य कार्यभार प्राप्त उपलब्धीहरूको रक्षा गर्नु हो, त्यसपछि मात्र थप उपलब्धीहरू प्राप्त गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस