राष्ट्रिय जनगणनाको तयारी तिब्र

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, १७ : १९
राष्ट्रिय जनगणनाको तयारी तिब्र

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असाढ ८ गतेसम्म हुने भएको छ ।  बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा छलफलमा भाग लिदैँ केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले २०७८ को जनगणनाको मुख्य गणना कार्य २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गरिने बताएका हुन् । यस अवधिमा सुपरिवेक्षकहरुले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण सङ्कलन गर्ने उनले जानकारी दिए । 

महानिर्देशक श्रेष्ठले यस वर्ष करिब ८० वटा प्रश्न लिएर जनगणनाको लागि प्रत्येक घरमा जाने बताए । जनगणनाको लागि ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने पनि बताए । मुख्य जनगणना अघि बैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचिकरण गरिने पनि बताए ।

जनगणनाको लागि आवश्यक तयारीहरु गरिरहेको उनले बताए । ७ वटा प्रदेशमा र ७७ जिल्लामा ८० स्थानमा जनगणना कार्यालय स्थापना गरिएको पनि उनले जानकारी दिए । स्रोत र साधनले भ्याएसम्म प्रविधिको प्रयोग गरिने महानिर्देशक श्रेष्ठले बताए । वि.सं. १९६८ सालदेखि नेपालमा प्रारम्भ भएको जनगणना हरेक १०÷१० वर्षमा हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस