संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी , नेपाली  काँग्रेसले जनायो आपत्ति

सफल खबर संवाददाता

सोमबार, १६ चैत्र २०७७, १५ : ०३
संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी , नेपाली  काँग्रेसले जनायो आपत्ति

काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आपत्ति जनाएको छ । संसद विघटनका कारण हिउँदे अधिवेशन ढिलो प्रारम्भ भएकाले वैशाखमै बर्खे अधिवेशन बस्नुपर्ने हुँदा जारी अधिवेशन अन्त्य गर्न लागेको सरकारले जनाएको छ ।

शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जारी अधिवेशन चाँडै अन्त्य गर्न लागिएको बताएका थिए । प्रधानमन्त्री  ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको गरेपछि ११ फागुनमा सर्वोच्च अदालतले पुनःस्थापित गरेको थियो । सर्वोच्चको फैसलापछि फागुन २३ गते पुनःस्थापित संसदको पहिलो बैठक बसेको थियो ।

प्रधानमन्त्री ओली आजसम्म पुनःस्थापित  प्रतिनिधिसभाको बैठक कक्षमा प्रवेश गरेकै छैनन्  । संसद  भवनसम्म गएर उनी आफ्नै कार्यकक्षमा बसेर फर्किने गरेका छन् । यता संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले पनि अहिलेसम्म पुनःस्थापित संसदलाई सम्बोधन समेत गरेका छैनन् ।

अधिवेशन सुरु भएपछिका पाँचवटा बैठकमा शोक प्रस्ताव पारित गर्ने र आयोगका वार्षिक प्रतिवेदनबाहेक सरकारले महत्त्वपूर्ण विषय प्रस्तुत गरेको छैन । यस्तो अवस्थामा संसद अधिवेशन अन्त्य गर्ने कुरा स्वभाविक नहुने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस