एमाले विवाद : एकतामा जोड, अडान यथावत्

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ०७ : ५०
एमाले विवाद : एकतामा जोड, अडान यथावत्

काठमाडौँ । एमालेको झलनाथ खनाल–माधव नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सकेसम्म पार्टीभित्रै बसेर संघर्ष गर्ने निष्कर्षसहित संसदीय दल बैठकमा सहभागी भएको छ । यसअघि ओलीले बोलाउने गरेका संसदीय दल र केन्द्रीय कमिटी दुवै बैठकमा सहभागी नभएको उक्त समूहले शुक्रबार बालुवाटारमै पुगेर आफ्नो मत राखेको छ ।

प्रधानमन्त्री ओली र असन्तुष्ट समूहले शुक्रबार बैठकमा राखेका अडान भने विगतमा भन्दा फरक खालका छैनन् । तर आ–आफ्ना असन्तुष्टि र विचार पार्टी कमिटीभित्रकै बैठकमा प्रस्तुत हुनुलाई दुवै पक्षका नेताहरूले ‘पार्टीभित्र मडारिएको कालो बादलमा चाँदीको घेरा’ का रूपमा बुझेका छन् । पार्टी विभाजनको खतरा भने अझै नटेरेको उनीहरूको भनाइ छ ।

ओलीका कदमविरुद्ध उत्रिइरहँदा खनाल–नेपाल समूहमा दुईखाले मत थिए– एउटा ओलीविरुद्ध आफ्नो शक्ति संगठित गर्ने र उनलाई झुकाउने । अर्को, पार्टी कमिटीहरूभित्रै बसेर उनीविरुद्ध संघर्ष गर्ने । बहस चर्किंदै गर्दा केही नेता ओली समूहमा सामेल हुन थाले । त्यसैले ओलीले बोलाएको बैठकमा जाने कि नजाने र स्पष्टीकरणको जवाफ दिने कि नदिने भन्ने लामो बहस चल्यो ।

जुन बहसको निष्कर्षका रूपमा स्पष्टीकरण मागिएका नेताहरू नेपाल र भीम रावलले बिहीबार प्रतिप्रश्नसहितको जवाफ पठाएका थिए । शुक्रबार ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने कि नजाने भन्ने विषयमा खनाल–नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरूको छुट्टै बैठक बसेको थियो ।

बैठकमा अधिकांश नेताले केन्द्रीय कमिटीमा आफ्ना असहमति रहे पनि संसदीय दलमा जानुपर्ने मत राखेका थिए । धेरै नेताको जानुपर्ने राय आएपछि दिउँसो ३ बजेका लागि बोलाएको बैठकमा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा नेताहरू बालुवाटार पुगेका थिए । नेता नेपाल र उपाध्यक्ष रावल भने संसदीय दलको बैठकमा गएनन् । नेता नेपालले आफू बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने भन्दै विशेषगरी बैठक स्थलबारे विगतमा जस्तै असहमति जनाए । अर्का नेता रावलले भने आफूमाथि स्पष्टीकरणका नाममा गम्भीर आरोप लगाइएकाले त्यसमा ओलीले माफी नमाग्दासम्म बैठकमा नजाने अडान लिए । अरू सांसद भने त्यहीँ गएर कुरा राख्ने निष्कर्षसहित बालुवाटार गए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस