अभियुक्त दिनेशसँग मिल्यो भागरथीको स्वाबको डीएनए

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १४ : ५०
अभियुक्त दिनेशसँग मिल्यो भागरथीको स्वाबको डीएनए

काठमाडौं ।  हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए मृतक भागरथी भट्टको स्वाबको डीएनए मिलेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले आरोपित भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको  पुष्टि गरेको छ । 

दिनेशले आफूले बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए, तर  पछि उनले पटकपटक बयान फेरेका थिए । उनका आफन्तले समेत पत्रकार सम्मेलन गरी दिनेशलाई फसाइएको आरोप लगाएका थिए । केन्द्रीय प्रहरी  विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको सिंहले बताए ।

प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई पक्राउ गरेको थियो । त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी २२ माघमा घरबाट विद्यालय गएकी थिइन् । तर, फर्किएर आउन पाइनन् । २३ माघमा उनको शव खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा भेटिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस