विराटनगरमा पुनः कोरोना सङ्क्रमित भेटिन थालेपछि नाकामा सतर्कता

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १३ : २६
विराटनगरमा पुनः कोरोना सङ्क्रमित भेटिन थालेपछि नाकामा सतर्कता

विराटनगर । विराटनगरमा पुनः कोरोना सङ्क्रमित भेटिन थालेपछि स्थानीय प्रशासनले नाकामा सतर्कता अपनाएको छ । पछिल्लो तीन दिनमा विराटनगरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ सङ्क्रमित भेटिएपछि स्थानीय प्रशासनले शंकास्पद व्यक्तिको एण्टिजिन परीक्षणपछि मात्रै प्रवेश गर्न दिने निर्णय गरेको हो ।छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण तीब्र भएपछि सतर्कता अपनाएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

‘नाकामा रहेको हेल्थ डेक्समा एण्टिजिन परीक्षण गर्ने निर्णय भएको छ,’ उनले भने ‘नेपाल आउने सबैको सम्भव हुदैन, शंकास्पद व्यक्तिको जाँच गर्छौ ।’भारतबाट आउनेहरुको नाकामा तापक्रम नाप्ने र ज्वरो आएकाहरुको एन्टिजिन परीक्षण गर्ने उनको भनाइ छ ।

भारतबाट आएका सङ्क्रमित सम्पर्क छैन्न । मरङमा पछिल्लो चार दिनमा १० जना कोरोना सङ्क्रमित भेटिएका छन् । १० मध्ये ६ जना विराटनगरका छन् । नयाँ सङ्क्रमण देखिएकाहरुको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा .सुरेशकुमार मेहताका अनुसार मोरङमा सङ्क्रमण देखिएका १० जनामध्ये विराटनगरका ६ जना, सुन्दरहरैचाका ३ र पथरीशनिश्चरे नगरपालिकाका १ जना छन् ।

तर उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भएको छैन । महानगरपालिकामा पछिल्लो दुई महिना कोरोना सङ्क्रमित भेटिएका थिएनन् । तर चार दिनको अन्तरमा ६ जनामा सङ्क्रमण देखिँदा नागरिकमा त्रास बढेको छ ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीका अनुसार नयाँ सङ्क्रमितमा दोस्रो फेजको कोरोना सङ्क्रमण भएको आशंका गरिएको छ । सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ महानगरपालिकाले गर्ने उनले बताए । कोरोना महामारी नियन्त्रणमा आएपछि महानगरपालिकाले दुई महिना अघि पीसीआरका लागि स्वाब संकलन बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस