चितवनमा राष्ट्रिय जनगणनाको तयारी तिव्र

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, ११ : ०२
चितवनमा राष्ट्रिय जनगणनाको तयारी तिव्र

चितवन । चितवनमा राष्ट्रिय जनगणनाको तयारी तिव्र पारिएको छ । चैत १ गतेदेखि जिल्ला जनगणना कार्यालय स्थापना गरि तयारीलाई तिव्र पारिएको हो । तथ्याकं कार्यालय चितवनको भवन भरतपुरमा नै कार्यालय स्थापना गरिएको छ । यस कार्यालयले चितवन सहित नवलपरासी पुर्व र पश्चिम हेर्दछ । चैत १ गतेदेखि ०७८ असार मसान्तसम्म ४ महिनाका लागि कार्यालय स्थापना गरिएको हो । 

चितवनमा जनगणनाका लागि ८ सय ९५ गणक र २ सय ३ जना सुपरिबेक्षकको दरवन्दी प्राप्त भएको छ । गणकले १ महिना र सुपरिवेक्षकले २ महिना काम पाउनेछन् । दुवै पदका लागि चैत १५ गतेसम्म अनलाइनमार्फत फर्म भर्न सकिनेछ । गणकका लागि १२ कक्षा र सुपरिबेक्षकका लागि स्नातक उर्तिण गरेको हुनुपर्दछ । गणकहरुले अवको १ महिनापछि प्रत्येकको घरमा पुगेर विवरण संकलन गर्दैछन् ।

जनगणना समन्वय र सहजीकरण समितीहरुको गठन
राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन  आदेश २०७६ वमोजिम चितवनमा जिल्ला जनगणना संमन्वय समिती गठन गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको हो । जसमा प्रमुख कोष नियन्त्रक, प्रमुख प्रहरी उपरिक्षक, शिक्षा इकाई प्रमुख, महानगरपालिकाका अधिकृत स्तरको कर्मचारी, जिल्ला समन्वय अधिकारी र जिल्ला जनगणना अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।  आवश्यकता अनुसार ३ जना आमन्त्रित सदस्यको रुपमा राख्न सकिनेछ । समितीको पहिलो बैठक गत चैत ४ गते सम्पन्न भइसकेको छ । जिल्ला स्तरीय जनगणना सहजीकरण सयन्त्र निमार्णको चरणमा छ । जिल्ला समन्वय समितीका प्रमुखको संयोजकत्वमा सातै स्थानीय निकायका प्रमुख तथा उपप्रमुख समिति सदस्य रहनेछन् । यस समितीको सदस्य सचिवमा जिल्ला जनगणना अधिकारी रहनेछन् । यस्तै प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय जनगणना सहजीकरण समिती बन्ने क्रममा छ ।
 

७ स्थानीय जनगणना कार्यालय स्थापना
देश संघियतामा गइसकेपछि पहिलो पटक हुन लागेको यस जनगणना कार्यलाई महत्वका साथ हेरिएको छ । चितवनमा ७ वटा स्थानीय जनगणना कार्यालय रहनेछन् । जसअन्तर्गत भरतपुर, गीतानगर, चनौली, माडी, टाँडी जुटपानी र भण्डारामा कार्यालय रहनेछ । भरतपुर महानगगरपालिकामा मा तीन वटा, माडी नगरपालिकामा एक, रत्ननगर नगरपालिकामा एक, राप्ती नगरपालिकामा एक र कालिका नगरपालिकामा एक कार्यालय स्थापना गरिने जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिए । इच्छाकामना गाउंपालिका क्षेत्रलाई जुटपानी जनगणना कार्यालयले हेर्नेछ । ७ वटै स्थानमा स्थानीय जनगणना समन्वय समिती गठन गर्ने तयारीमा रहेको उनले बताए । समितीको प्रमु्खमा स्थानीय जनगणना अधिकारी रहने व्यवस्था छ । 
३४ प्रक्षिशक तालिममा पठाइयो 

चितवनमा मात्र ३ महिलासहित ३४ जना गणक प्रशिक्षक खटाइदैछ । उनीहरुलाई आजदेखि १५ गतेसम्म हेटौडामा तालिम हुदैंछ । विभिन्न कलेजमा जनसंख्या विषय अध्यापन गराउने शिक्षक तथा तालिम केन्द्र रहेका विद्यालयका जनसंख्या र गणीत विषयका शिक्षकहरुलाई प्रशिक्षकको रुपमा खटाइन लागिएको हो । यसैगरि स्थानीय जनगणना अधिकारीको तालिम भने चैत १९ देखि २५ सम्म हुदैंछ । 

गणना सामग्री आइपुग्यो
गणनाका लागि आवश्यक १सय१५ बोरा सामाग्री चितवनमा आइसकेको र भण्डारण गरिएको जिल्ला जनगणना अधिकारी भण्डारीले जानकारी दिए । गणनाका लागि जिल्लाका सबै स्थानीय निकायमा पत्राचार गरिसकिएको छ ।आगामी दिनमा  प्रचार प्रसारलाई तिव्र पारिने, विभिन्न चरणमा सरोकारवाला निकायसंग अन्तरक्रिया गोष्ठी गरिने , पर्चा पम्लेट वितरण गरिनेछ । यस्तै रेडियो तथा टेलिभिजनबाट जिङलहरु बजाइदैंछ । 

१९६८ सालदेखि  प्रत्येक १०÷१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महत्वको हुनेछ। ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको छ । कोही नछुटोस् कोही नदोहरियोस् भन्ने उद्देश्यले सबैको घरमै पुगेर गणना गरिदैंछ । यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो। यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ। ‘विगतमा बहुविधिबाट जनगणना  हुन्थ्यो। यसपटक एकल विधिबाट जनगणना गर्दैछौं’, जनगणना अधिकारी भण्डारीले भने्, ‘पहिले ८ घरमध्ये १ घर हुन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ।’ 

पारिवारिक विवरण तथा घरपरिवारको सूचीकरण सुपरिवेक्षकले स्थानीय तहमा पुगेर संकलन गर्नेछन्। यो काम २०७८ वैशाख २६ देखि जेठ १८ गतेसम्म हुनेछ। मुख्य प्रश्नावलीका लागि गणकहरू घरघरमा पुग्नेछन्। यो घर तथा पारिवारिक गणना जेठ २५ देखि असार ८ सम्म गर्ने तयारी गरिएको छ। जनगणनामा घरधनी बसोबास नगर्ने घर÷भवन÷मल पनि गणनामा समेटिँदैछ। अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ। सुपरिवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् ।  गाउँ, सहर छुट्ट्याउने गरी प्रश्नावली तयार गरिएको छ। 

मातृभाषा थप 
यसपटक जनगणनामा पुख्र्यौली भाषाको प्रश्न थप गरिएको छ। मातृभाषा र दोस्रो भाषा समावेश गरिएको छ। 
२०६८ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको जनसंख्या १ करोड ३६  लाख ४५ हजार ४ सय ६३ थियो । घरपरिवार संख्या ५४ लाख ५३ हजार २ सय ९७ थियो। जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो। हालको जनसंख्या ३ करोड १ लाख ८० अनुमान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस