गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आमजनता माझ अपनत्व गराउन 'मेची–महाकाली अभियान'

अभियानमा रंगशालाका अभियन्ता धुर्मुस’ आफैं पनि सहभागी

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०७७, ११ : ००
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आमजनता माझ अपनत्व गराउन 'मेची–महाकाली अभियान'

काठमाडौं । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमजनतालाई भावनात्मकरुपमा जोड्ने उद्देश्यले यसका मुख्य अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’सहितको टोली मेची–महाकाली अभियानमा निस्केका छन् ।

रंगशाला निर्माणकोे अवस्थाबारे घर–घरमा जानकारी बाँड्ने र जनतालाई अपनत्व महासुस गराउने यस अभियानको थालनी गरिएको धुर्मुसले बताएका छन् । अभियानमा निस्केको टोली आज बिहान निर्माणाधीन रंगशाला परिषरबाट टोली कञ्चनपुरतर्फ प्रस्थान गरेको हो । मेचीदेखि महाकालीसम्मका ७७ वटै जिल्लामा पुग्ने टोलीको लक्ष्य छ । जसअनुसार पहिलो चरणको यात्रा कञ्चनपुरबाट सुरु हुने छ ।

१० र ११ गते कञ्चनपुरमा बिताएपछि १२ र १३ गते कैलाली, १४ र १५ गते बर्दिया, १६ र १७ गते बाँके, १८ र १९ गते दाङ, २० र २१ गते सुर्खेत, २२ र २३ गते कपिलवस्तु जाने कार्यक्रम छ । यसैगरी २६ र २७ गते परासी र नवलपुरमा बिताएर पहिलो चरणको यात्रा अन्त्य गरिने छ । मेची–महाकाली यात्राका क्रममा सम्वन्धित जिल्लामा रहेका स्थानीय तहहरुका साथै जनताको घरदैलोमा पनि पुग्ने धुर्मुसले बताए ।

स्थानीय तहहरुलाई यसबारे पहिल्यै पत्राचार गरिसकिएको उनले जानकारी दिए ।  भ्रमण टोलीमा धुर्मुसका साथमा अर्जुन घिमिरे ‘पाँडे’, निगम हुमागाईं, अर्जुन भुषाल लगायत छन् । धुर्मुसका अनुसार पहिलो चरणको यात्रा समाप्त भएपछि टोली रंगशालामा फर्किने छ । केही दिन रंगशालामा विश्राम गरेपछि दोस्रो चरणको यात्रा आरम्भ गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस