दुर्लभ एकसिंगे गैंडा गणना आजदेखि देश भरि शुरु, वनमन्त्री आलेले वनदेवीको पुजा गरेर शुरु गरिदैं

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०७७, ०९ : ०४
दुर्लभ एकसिंगे गैंडा गणना आजदेखि देश भरि शुरु, वनमन्त्री आलेले वनदेवीको पुजा गरेर शुरु गरिदैं

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एक सिंगे गैंडाको गणना आजबाट देशभर शुरु भएको छ । त्यसको शुरुवात भने पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन मन्त्री प्रेमबहादुर आलेले वनदेवीको पूजा गरी गैंडा गणनाको सुरुवात गर्ने निकुञ्जले जनाएको छ।

गणनामा ३ सयभन्दा बढी जनशक्ति र ६० वटा हात्तीसहितको टोलीले परिचालन हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । त्यसमध्ये चितवनमा मात्रै २०० सय बढी मानवीय जनशक्ति र ४० वटा हात्तीको प्रयोगगरी २२ भागमा विभाजन गरेर गणना गरिँदैछ।

यसका लागि निकुञ्जले गणक, माउतेलाई तालिम दिएको थियो भने स्वास्थ्य शिविर नै सञ्चालन गरेर योग्य हात्तीहरु छनोट गरेको थियो । अहिले शुरु भएको गणना गत वर्षकै चैतमा तयारी भएपनि लकडाउनका कारण अन्तिम समयमा स्थगन गरिएको थियो । पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ वटा एक सिंगे गैंडा भेटिएका थिए। उक्त गणनामा देशभरमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए। त्यसपछि चोरी शिकारबाट मर्नेको संख्या नगन्य भएपनि प्राकृतिक कारणले मर्नेको संख्या भने बढेर गएको थियो ।

यस आर्थिक वर्षमा मात्रै चितवन निकुञ्जमा ४ वटा चोरी सिकारबाट र २२ वटा प्राकृतिक कारणबाट गैंडा मरेका छन्। निकुञ्जका अनुसार गैंडाहरु पश्चिम क्षेत्रहुँदै भारततर्फ प्रवेश गर्नेक्रम पनि पछिल्ला दिनमा बढेको छ। यस पटक गैंडा गणनाका लागि १ करोड रुपैयाँ भन्दा बढी खर्च लाग्ने निकुञ्जले जनाएको छ । उक्त रकम यो वर्ष नेपाल सरकारले खर्च गर्ने भएको छ ।

सोमबारबाट सुरु भएर २९ गतेसम्ममा गणना सम्पन्न गरी चार वटै निकुञ्जको तथ्यांक वैशाख महिनामा सार्वजनिक गर्ने तयारी छ निकुञ्जको छ ।  चितवन निकुञ्जमा पछिल्लो ६ वर्षको अन्तरालमा १६१ वटा गैंडा मरेका छन्। गैंडा गणना यस अघि सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गरिएको थियो । देशका चार वटा निकुञ्जमा पाइने एक सिंगे गैंडा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी छन्। त्यसैले गणनाको नेतृत्व पनि चितवन निकुञ्जले गर्दैछन् ।