किन बोलाए काँग्रेस सभापति देउवाले पार्टी पदाधिकारी बैठक ?

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०७७, ०८ : १३
किन बोलाए काँग्रेस सभापति देउवाले पार्टी पदाधिकारी बैठक ?

काठमाडौं । काँग्रेस पदाधिकारी बैठक आज बस्दैछ । आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेलले शीर्ष नेताहरुसँग आफ्नै निवास बोहोराटारमा छलफल गर्दै प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न सभापति शेरबहादुर देउवाले गरिरहेको अलमलका विषयमा छलफल चलाईरहेका बेला देउवाले आजका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाईएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा भावी सरकारको समिकरण, पार्टी महाधिवेशन, राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताईएको छ । प्रधानमन्त्री केपी ओली हिटलर शैलीमा निरंकुश ढंगले हिड्न थालेका बेला उनलाई बिदाई गरेर आफु नेतृत्वको नयाँ सरकार निर्माणमा काँग्रेस अगाडी बढ्नुपर्ने पौडेल पक्षको जिकिर छ ।

शुरुमा देउवालाई नै प्रधानमन्त्री बनाउने विषयमा खास केही नबोली बसेको काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले समेत अबको सरकारको नेतृत्व काँग्रेसले गर्दा सभापति देउवा सर्वसम्मत पार्टी उम्मेदवार भनेर सहमति जनाईसक्दा समेत देउवा अलमल गरिरहेका छन् । आइतबार पौडेल निवासमा बसेका शीर्ष नेताहरुको छलफलले पनि ओलीको विकल्प खोज्न काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी मिलेरै अगाडी जानुपर्ने पक्षमा ढृढ नै देखिए । यसका लागि अलमल नगरी अगाडी बढिहाल्न देउवालाई दबाब बढाउने रणनीति पौडेल पक्षले बनाईरहदा आज देउवाले पनि सरकार, राजनीतिक घटनाक्रम र महाधिवेशनका विषयमा छलफल गर्न भन्दै पदाधिकारी बैठक बोलाएका हुन् ।

पौडेलले आफ्नै निवासमा समसामयिक राजनीतिक घटनाक्रम र महाधिवेशनको तयारीका सम्बन्धमा आफ्नो गुटका शीर्ष नेताहरुसँग झण्डै दुई घण्टा आइतबार छलफल गरेका थिए । छलफलमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत एवं अर्जुननरसिंह केसी र डा. मीनेन्द्र रिजाल सहभागी थिए । बैठकमा सभापति देउवाले नयाँ सत्तासमीकरणका विषयमा खासै पहल नगरेको विषयमा समेत छलफल भएको एक नेताले जानकारी दिए ।

‘महाधिवेशनको तयारी सुस्त गतिमा छ, समसामयिक राजनीतिक घटनाक्रममा पनि पार्टीको मौनता बढेको छ, यो गलत हो,’ बैठकको निष्कर्ष सुनाउँदै ति नेताले सफलखबरसँग भने, ‘त्यही विषयमा सभापतिजीलाई ध्यानाकर्षण गराउनेबारे छलफल भएको हो ।’ नयाँ सत्तासमीकरणका विषयमा माओवादी केन्द्र र जसपाले निर्णय नलिएको भन्दै परिपक्व परिस्थिति खोजिरहेको कांग्रेसले पनि आधिकारिक धारणा तय गरेको छैन् । तर, वरिष्ठ नेता पौडेलले भने ओलीको विकल्पमा कांग्रेसले नेतृत्व गरेर नयाँ सरकार बनाउनुपर्ने बताउँदै आएका छन् ।

आइतबारको बैठकमा पौडेल समूहले पार्टीको महाधिवेशनको कार्यतालिका पूर्ण कार्यान्वयन, क्रियाशील सदस्यता र समायोजन विवादलगायत विषयमा समेत छलफल गरेको थियो । नयाँ सरकार अहिलेको परिस्थितीमा ४ विकल्पमा मात्र बन्न सक्ने अवस्था छ । त्यसमध्ये ओलीकै लागि ३ विकल्प खुल्ला छ भने त्यो बाहेकको एउटा विकल्पमा मात्र अर्काे एउटा विकल्प बाँकी छ । ओलीले माओवादी केन्द्र, काँग्रेस र जसपा कुनै एउटा दलको मात्र साथ लिएपनि सरकार बन्ने बाटो छ । तर त्यसपछिको अर्काे बाँकी रहेको एउटै विकल्प भनेको काँग्रेस, माओवादी केन्द्र र जसपा मिल्नै पर्ने हुन्छ ।

अहिले माओवादी माओवादी केन्द्र, काँग्रेस र जसपा मिलेर नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा खुलिसकेको छ । तर काँग्रेसमा देउवाको अलमलले ठोस प्रगति हुन सकिरहेको छैन् । तीन दल मिल्न सक्ने देखेर ओलीले समाजवादी पार्टीभित्रै खेलिरहेका छन् । महन्थ ठाकुर र राजेन्द्र महतोलाई अनेक चारा हालेर ओलीले बरु समाजवादी फुटाईदिने तर संग्लो रुपमा काँग्रेस र माओवादीसँग मिलेर आफ्नो विकल्पमा आउन नदिने रणनीतिमा ओली लागिरहेका छन् ।

अर्काेतिर ओलीले देउवासमेतलाई विभिन्न प्रलोभनमा पारेर नयाँ सरकारको नेतृत्व लिन तयार हुन दिईरहेका छैनन् । पार्टीभित्रै दबाबमा समेत परेका देउवाले आज पदाधिकारी बैठकवाट आफु बढेको घोषणा गर्लान् त ? काँग्रेस देखि माओवादी केन्द्र र जसपाका नेताहरु पनि आजको काँग्रेस पदाधिकारी बैठकको निर्णय पर्खेर बसेको देखिन्छन् ।
 
 

प्रतिक्रिया दिनुहोस