गैँडाकोटमा निःशुल्क योग शिविर, यस्तो छ योगको फाइदा

प्रकाश सिग्देल

आइतबार, ०८ चैत्र २०७७, १४ : ०९
गैँडाकोटमा निःशुल्क योग शिविर, यस्तो छ योगको फाइदा

गैँडाकोट । मुना बचत तथा ऋण सहकारी संस्था युवा परिचालन उपसमिति गैडाकोट ४ को आयोजनामा निःशुल्क योग शिविर सञ्चालन भएको छ । ईन्द्रा दिप योगा एण्ड जुम्बा स्टुडियोको संयोजनामा १० दिने निःशुल्क योग शिबिर आयोजना गरिएको  मुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रबिन्द्रराज घिमिरेले बताए । 

योग ध्यान र साधनाले बनाउँछ ब्यक्तिलाई उर्जावान, सदस्यको स्वास्थ्य हितमा मुना बचतको सदैव ध्यान भन्ने मूल मन्त्रका साथ स्वस्थ्य नागरिक सभ्य समाज निमार्णका लागि शिविर गरिएको ईन्द्रा दिप योगा एण्ड जुम्बा स्टुडियोकी सञ्चालक ईन्दु घिमिरेले बताइन् । 

शिविर १८ गतेसम्म सञ्चालन हुने छ  । शिविरमा उत्साहजनक सहभागिता रहेको घिमिरेले बताए । निःशुल्क शिविर भएकाले सबै नागरिकले यहाँ आएर सहभागी हुन सक्ने घिमिरेले बताए ।

योग के हो ?
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । 

परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।

योग किन गर्न आवस्यक छ  ?
१– योग हरेक उमेर समूहका मानिसले गर्न सक्छन् । जसको माध्यमले रोगी व्यक्ति निरोगी बन्छन् भने सामान्य मानिसलाई पनि स्वस्थ जीवन पद्धतिका लागि सघाउ पुग्छ ।

 २– योगले सकारात्मक सोचको विकास गराउँछ । मनमा नकारात्मकता नआउने भएकाले व्यक्तिको जीवन पद्धतिमा नै परिवर्तन आउँछ ।

३– शरीरमा अक्सिजनको मात्रा पूर्ति गराउन बिहानको समय योग गर्नु उपयुक्त हुन्छ ।

४– योग एक किसिमको व्यायाम पनि हो । योग गर्दा शरीरका सबै जोर्नी चलायमान हुन्छन् । शरीरमा रक्तसञ्चार बढ्छ । साथै, शरीरका सबै अंगमा अक्सिजन पुग्ने हुँदा रोग प्रतिरोधी क्षमतासमेत बढाउँछ ।

५–  स्वस्थ रहन, आत्मविश्वास बढाउन, धन कमाउन, सफल बन्न र प्रतिभा प्रष्फुटन गर्न योग उपयुक्त माध्यम हो ।

६– तनाव व्यवस्थापनका लागिसमेत योग एकदमै उपयोगी मानिन्छ । योग ध्यानसँग केन्द्रित हुने हुँदा एकाग्र हुन सकिन्छ । जसबाट तनाव सजिलै व्यवस्थापन हुन्छ ।

७– उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि योग आवश्यक हुन्छ । तर, सबै किसिमका योग सबैलाई उपयुक्त मानिँदैन ।

८– शारीरिक अवस्थालाई ध्यानमा राखेर योग गरेमा विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ ।

९–  हरेक बिहान कम्तीमा आधा घन्टादेखि बढीमा एकदेखि डेढ घन्टासम्म योग गर्न सकेमा निरोगी भइन्छ ।

१०– बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र व्यायामको कमीका कारण अधिकांश मानिसमा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या देखिन्छ । योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई जोड्ने भएकाले स्वस्थ जीवनका लागि योग एकदमै महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस