रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउनु हुदैन:  राजकिशोर यादव

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १६ : ५१
रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउनु हुदैन:  राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधन र रेशम चौधरी रिहाइको कुरा गर्दा सरकारमा आउने प्रस्ताव गरिएको बताउँदै रेशम चौधरीको विषयलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका हुन् । चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुने उनकोे भनाइ छ । 

थारुहट आन्दोलनका सबै आन्दोलनकारीलाई राजबन्दीसरहको व्यवहार हुनुपर्ने र राजनीतिक समस्याको रुपमा लिएर समस्या समाधान गरिनुपर्ने उनले बताए । उनले भने –‘हामी संविधान संशोधनका कुरा गर्दा तपाईहरु सरकारमा आइदिनु प¥यो । हामी रेशम चौधरीको कुरा गर्दा सरकारको लेनदेनको विषय बनाउँछन् । मलाइ लाग्छ, रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुदैन । त्यो शर्तको रुपमा बुझ्नु हुँदैन ।

नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो । राजबन्दी हो । त्यसलाई त्यही राजबन्दी सरह व्यवहार गरेर जसरी सिके राउत सँग व्यवहार भयो । जसरी नेत्रविक्रम चन्द सँग व्यवहार भयो त्यसैगरी थारुहट आन्दोलनमा भएका सम्पूर्ण आन्दोलनकारीहरु सँग राजबन्दीसरह व्यवहार गरेर राजनीतिक समस्या जसरी समाधान हुन्छ त्यसरी गरेर समाधान गर्नुपर्छ । न कि त्यसलाई सरकारमा आउने जाने, सरकारको लेनदेनको विषय ।’

सांसद यादवले जसपा फुटको हल्ला मिडियामा आएको भन्दै कुनै लोभ लालचमा नफस्ने र पार्टीलाई नफुटाउने बताए । जसपाले सही समयमा सही निर्णय लिने उनको भनाई छ । उनले भने – ‘सहमतीको राजनीतिलाई अगाडी बढाउनुस् हाम्रो दल त्यसको लागि तयार छ ।

हाम्रो बारेमा मिडियामा जसरी कुरा आको छ कि जनता समाजवादी पार्टी अहिले निर्णायक छ । जनता समाजवादी पार्टी एकढिक्का छ । र कसैको कारणले हामी फुट्नेवाला छैनौँ । हामी कुनै लोभ, लालचमा फस्नेवाला छैनौँ । हामी विवेकपूर्ण, देशको हितमा हामी यो मुलुकलाई अगाडी बढाउनको लागि सही समयमा सही निर्णय लिन्छौँ ।’

 
 
 

प्रतिक्रिया दिनुहोस