ब्यूँतियो वाईसीएल, जेठ २८–३० मा राष्ट्रिय भेला

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, ०८ : ३०
ब्यूँतियो वाईसीएल, जेठ २८–३० मा राष्ट्रिय भेला

काठमाडौं । माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) पूरानै संरचनामा ब्यूँतिएको छ । दुई दिन यता बसेको केन्द्रीय समिति बैठकले वाइसिएललाई पूर्ण रुपमा सक्रिय बनाएर लैजाने निर्णय गर्दै जाग्दो र भरभराउँदो युवा शक्तिका रुपमा अगाडी बढाउने निर्णय गरेको छ ।

संगठनको राष्ट्रिय भेला जेठ २८ देखि ३० गतेसम्म गर्ने निर्णय पनि बैठकले गरेको छ । तीन वर्ष अगाडी एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएपछि बनेको नेकपाको युवा संगठनमा राष्ट्रिय युवा संगठनको नाममा गतिविधि हुदै आएको थियो । तर पार्टी एकताको तीन वर्ष नपुग्दै देखा परेको विवादले अन्ततः नेकपा विभाजनको अवस्थामा पुगेको थियो ।

ओलीले प्रतिनिधीसभा विघटन गरेपछि प्रष्ट विभाजन भएको नेकपालाई अर्काे शिराबाट सर्वाेच्च अदालतले टुक्राईदियो । अर्थात माओवादी केन्द्र र नेकपालाई अलग अलग समुहमा विभाजन गर्ने काम अदालतले गरिदिएपछि दुवै पक्षका अलग अलग संरचना क्रियाशिल हुन थालेका छन् । त्यही क्रममा वाइसिएलको पनि संरचना ब्यूँतिएको हो ।

वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले अब संगठनको राष्ट्रिय भेला जेठ २८ देखि ३० सम्म गर्ने निर्णय केन्द्रीय समितिको चौथो बैठकले गरेको बताए । भेलाले संगठनको नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताए ।

संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटी देखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए । राष्ट्रिय भेला अगावै कम्तीमा दुई लाख नयाँ सदस्यता बिस्तार गर्ने र टोल टोलसम्मै सक्रिय वाईसिएल निर्माण गर्ने गरी संगठनात्मक कार्ययोजना पनि बैठकले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस