सरकारले सुरक्षाकर्मी घटाएपछि ‘प्रचण्ड’को सुरक्षामा खटियो वाईसीएलको टोली

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०८२, १४ : १८
सरकारले सुरक्षाकर्मी घटाएपछि ‘प्रचण्ड’को सुरक्षामा खटियो वाईसीएलको टोली

काठमाडौँ । पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वलडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएको छ । सरकारले सुरक्षामा खटिएको जनशक्ति फिर्ता गरेपछि वाईसीएलले सुरक्षा दिन थालेको हो ।

वाईसीएलका अध्यक्ष पुष्प ओलीले अध्यक्ष ‘प्रचण्ड’को सुरक्षामा वाईसीएल टोली खटिएको पुष्टि गरे । ‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौँ,’ उनले भने ।

स्रोतका अनुसार ‘प्रचण्ड’को सुरक्षामा पूर्वलडाकुसमेत छन् । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू छन् ।

बाहिरी घेरामा वाईसीएलको फिल्डमा खटिने गरेको टोली छ । र अर्को टोली गोप्य सूचना संकलनको उद्देश्यसहित परिचालन गरिएको छ । यो टोलीले ‘इन्टेलिजेन्स’को जस्तो भूमिका निर्वाह गर्ने छ ।

प्रचण्डको यात्रामा स्कर्टिङ गर्नुपरेमा पनि केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएलको विशेष टिम खटिने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस