प्रचण्डका कारण एमालेमा यो अन्तर्विरोध देखा पर्यो : ईश्वर पोख्रेल

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, १० : ४५
प्रचण्डका कारण एमालेमा यो अन्तर्विरोध देखा पर्यो : ईश्वर पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टी भित्र विभिन्न कारणले श्रृजना भएका अन्तरविरोधमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले “सेकतापका” गरेका कारण वर्तमान स्थिति उत्पन्न भएको बताएका छन् । पार्टी अध्यक्ष एवं महासचिवले भेला नगर्न दिएको निर्देशन विपरित वरिष्ठ नेता माधव नेपाल र नेता झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता आयोजना गरेको सन्र्दभमा उनले यस्तो टिप्पणी गरेका हुन् । अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त दाहालले एमालेभित्रका अन्तरविरोधलाई प्रयोग गरेको दाबी उनले गरे ।

मुलुकको पछिल्लो राजनीति सबैभन्दा ठूलो संसदीय दल नेकपा भित्रको अन्तरकलहमा नै अल्झिरहेका बेला महासचिव पोख्रेलसंग एमालेमा अहिले उत्पन्न परिस्थितिको विजारोपण, कम्युनिष्ट आन्दोलन तथा वर्तमान समस्याको समाधानका बारेमा कुराकानी गरिएको छ । प्रस्तुत छ उनीसंगको कुराकानी जस्ताको त्यस्तै । 
प्रश्न : नेकपा एमाले भित्र के भएको हो अहिले ?
उत्तर : नेकपा एमालेभित्र भएका कुरा सार्वजनिक नै भईरहेको छ । तर यसको कारण बुझ्न खोज्नुभयो भने त्यसका दुईवटा पाटा छन् । पहिलो पाटो भनेको हिजो नेकपा एमाले र माओवादी केन्द्रको बीचमा जुन किसिमले पार्टी एकिकरण भएको थियो, स्वरुपमा हेर्दा त्यो अत्यन्तै राम्रो थियो किनभने जनता र कार्यकर्ताले चाहेको, राष्ट्रिय आवश्यकता पनि पुरा हुने । राजनीनिक स्थायीत्वका लागि त्यसले महत्वपुर्ण भूमिका खेल्न सक्छ भन्ने हाम्रो अनुमान थियो । तर सारमा के भयो भन्दा विचारलाई व्यवस्थित गर्ने काम अलिकति भएको थिएन । संगठनलाई व्यवस्थित गर्ने काम भएको थिएन  र नेतृत्वको मामिलामा व्यवस्थित गर्ने काम भएको थिएन ।
 

प्रश्न : किन त्यस्तो आलोकाँचो निर्णय भयो त ?
उत्तर : किन त्यस्तो भयो त भन्दा पार्टी एकिकरण गर्ने सन्र्दभमा जुन नेतृत्व केन्द्रहरु थिए, ती केन्द्रहरुमा रहेका आग्रहहरु हावी भए, त्यो आग्रहहरु हावी भएका कारणले त्यो महान र पवित्र एकता परिपक्को हुन नपाईकनै सम्पन्न भएको थियो । त्यसकारणले के भन्न सकिन्छ भने यो एकताको बेलामा जुन भ्रुणहरुमा समस्या थिए । त्यही समस्या प्रकट भयो अहिले । त्यसको उत्कर्षमा पुगेको हो अहिले । अर्को कारण भनेको नेकपा एमाले भित्र हिजो देखि नै लोकतान्त्रिक अभ्यास गर्ने नाममा  पक्षधरता, गुटबन्दीको स्थिति थियो । त्यो गुटबन्दी माथि देखि तल सम्म नै थियो त्यसलाई व्यवस्थित गरिसकेका थिएनौ । त्यही व्यवस्थित गरिनसकेकै अवस्थामा हामी एकताबद्ध भयौ । एकतावद्ध भएपनि पुर्व घटकहरु भित्र रहेको अन्तरविरोधहरु चलायमान नै थिए । त्यही अन्तरविरोध दुरुपयोग भयो र अहिले यो स्थिति आएको हो । त्यसकारणले अहिले जे भएको छ यसको पृष्टभूमिमा यो कारण हो भनेर बुझ्नु पर्छ । कारण ठिक ढंगले नबुझ्ने हो भने समाधान के हुन्छ भनेर भन्न सकिदैन ।
 

प्रश्न : केही कमजोरीका कारण आज यो अवस्था श्रृजना भयो । अब कसरी समाधान गर्नुहुन्छ ?
उत्तर : समाधान के हो भने अहिले जुन उचाईमा हामी पुगेका छौ । यही उचाईमा चुनौतिहरु पनि आए । जुन उचाईमा चुनौतिहरु आएका छन् । यही उचाईमा चुनौतिको सामना गर्ने सामथ्र्य पनि हामीले आर्जन गर्नुपर्छ । त्यो सामथ्र्यको लागि एउटा भावनात्मक आधार भनेको कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउनुपर्छ यो राष्टको आवश्यकता हो । जनताको आवश्यकता हो । विगतमा हामी जो जसले कमी कमजोरी गरेको भएतापनि त्यसलाई एउटा बस्तुनिष्ट भएर त्यसको आत्म समिक्षा पनि हुनुपर्छ । आत्मसमिक्षा गर्दा आफ्ना कमि कमजोरीहरुलाई रियलाईज गर्दा सानो भईदैन । कमजोर भईदैन । झन त्यसले शक्ति प्राप्त हुन्छ । म सबै साथीहरुलाई के भन्न चाहन्छु भने आज यतिबेला नेकपा एमालेको नाममा जे जस्ता कुराहरु भईरहेका छन् । त्यो बढो दुखद छन् । जनता र कार्यकर्ताले मन नपराउने कुराहरु हुन् । ती मन नपराउने कुरा चाही हामीले स्टप गर्नुपर्छ  र नयाँ स्तरमा एकताको लागि पहल र प्रयत्न गर्नुपर्छ ।  एकताको कुरा गरिरहदा हामीले के अठोट र संकल्प गर्नुपर्छ भने आन्दोलनलाई नयाँ उचाई प्रदान गर्नु हाम्रो कर्तव्य हो । पार्टीलाई पनि नयाँ ढंगले निर्माण गरेर अगाडि बढाउनुपर्ने हाम्रो कर्तव्य हो ।  यो कर्तव्य हाम्रो कुनै बैयक्तिक ढंगले या कुनै टिम विशेषको मात्रै कुरा होइन । यो राष्टिय आवश्यकता हो । त्यसकारणले कमी कमजोरी भए हामी आफैबाट भए । अब यसलाई सच्याउने आँट पनि हामी आफैले गर्नुपर्छ ।
 

प्रश्न : यसमा कुनै एउटा पक्ष निरन्तर गलत र कुनै एउटा पक्ष निरन्तर सही कदापि हुदैन होला नि त ? बैज्ञानिक हिसाबले हेर्दाखेरी  ।
उत्तर : यो गल्ती कमजोरीको कुरा मात्रै होइन । पार्टीलाई वा नेतालाई , निर्णयलाई, नीतिलाई ,जुनसुकै कुरालाई पनि सतप्रतिशतमा बुझ्नु हुदैन । सापेक्षतामा बुझ्नुपर्छ । प्रतिशतमा बुझ्नुपर्छ । कमिकमजोरीहरु भएका हुनसक्छन् । कहीँ धेरै मात्रामा कमजोरी भएका हुनसक्छन् । कहीँ कमि होलान् तर गम्भीर कमजोरी के हुन् भनेर बुझ्नुपर्छ । गम्भीर कमजोरी भएपनि त्यो नेकपा एमालेभित्र कै साथीहरुबाट भएका हुन् । त्यसलाई सच्याउने आँट गर्नुपर्छ । त्यो साहस गर्नुपर्छ । मैले अघिनै भनेँ, कमजोरी सच्याएर मान्छे सानो भईदैन । यसले आन्दोलनलाई नै बल पुग्छ र व्यक्तिलाई पनि उसको मोरल हाई पनि हुन्छ । त्यो गर्नु जरुरी छ । के गर्न हुने र के गर्न नहुने भन्ने कुरा त केही आधारभूत सिमा रेखाहरु त हुन्छन् नि । जस्तो पार्टी अध्यक्ष निर्वाचित भएर केपी ओली आउनुभयो । पुर्व पार्टीको महाधिवेशनमा निर्वाचित भएको अध्यक्षको नाताले एकिकृत पार्टीको अध्यक्षको रुपमा उहाँ आउनुभयो । अब अर्को पार्टी नेकपा माओवादी केन्द्रको अध्यक्ष भएको नाताले प्रचण्ड आउनुभएको थियो । यो दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले गर्यौ । अब अचम्म कुरा के हो भने महाधिवेशन चैतमा गर्ने भनेको छ । छिटै गर्ने हो भने विशेष महाधिवेशन फागुनमै गरौ । त्यो भन्दा अझै छिटो हो भने माघ मा नै गरौ । अध्यक्ष केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिन । महाधिवेशनको तयारी गरौ, गरौ अनि त्यो नगरिकन बीचमै अध्यक्ष हट्नुपर्छ भनेर धक्का मारेर हटाउने खालको कुरा भो भने त्यो कस्तो देखिन्छ ? त्यो कुनखालको कमजोरी ? त्यो कुन खालको गल्ती ? त्यो हामीले बुझ्नु जरुरी छ ।
 

प्रश्न : एउटा पार्टीको दुईवटा समुहले आआफुलाई बैधानिक भनिरहेका बेला आम जनताले कसलाई के हेरेर सही मुल्यांकन गर्ने ?
उत्तर  : देशभरीका पार्टी कार्यकर्ताले यी विगतमा भएका कुराहरुलाई कसरी मुल्यांकन गर्ने ? यो आज वस्तुनिष्ट समिक्षा गर्नुपर्छ । आत्मालोचना गरिरहनुपर्छ भनिरहँदा यी विगतका कुरा हेर्न जरुरी छ । अर्को कुरा निर्वाचनका बेलामा नेकपालाई भोट दिने भनेर हामीले बामगठबन्धन बनायौ । त्यसबेला हामीले तात्कालिन नेकपा एमालेको तर्फबाट र माओवादी केन्द्रको तर्फबाट पनि प्रधानमन्त्री केपी ओली भनेरै लडियो । विभिन्न कारणले केपी ओलीको प्रतिष्ठा र लोकप्रियताको कुरा थियो । त्यसैले पनि उहाँ बिजयी बन्नुभयो । हाम्रो पार्टी बिजयी बन्यो । संसदीय दलको नेता सर्वसम्मत हुनुभयो । संसदीय दलको नेता भएपछि प्रधानमन्त्री बन्नुभयो । माओवादी केन्द्रले पनि प्रधानमन्त्रीको रुपमा उहाँलाई नै प्रस्तुत गर्यो । दुई बर्ष वित्न पाएको छैन बीचैमा प्रधानमन्त्री छोड्नुपर्छ भनेर धक्का मारेर हटाउने जस्तो खालको कुरा गर्यो भने कस्तो देखिन्छ ? यो कुरा कुन तहको बद्नियतपुर्ण कुरा हो भनेर भन्नुपर्छ ।
 

प्रश्न :वरिष्ट नेता माधव नेपाल पक्षले त नेपाल कम्युनिष्ट पार्टी माओवादी को एकता विथोल्ने काम पनि प्रधानमन्त्री ओलीबाट भएको भन्ने दाबी गर्दे आएको छ नि । त्यसलाई स्वीकार्नुहुन्छ ?
उत्तर : कात्तिक २८ गते एउटा अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट अर्को अध्यक्ष केपी ओलीलाई अभियोग लगाईयो ।त्यो अभियोग अत्यन्तै संघीन छ । त्यो अभियोगले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनका लागि मात्रै नालायक होइन केपी ओली ,पार्टी सदस्य पनि रहन नसक्ने । त्यत्तिमात्रै होइन फोजदारी अभियोग लगाएर दण्डित गर्नुपर्ने खालका अभियोग , एउटा संघीन अभियोग लगाईसकेपछि एकताको जग कसरी कायम रहन सक्थ्यो ? त्यो जग कसरी टिक्न सक्थ्यो ? त्यस्तोबेलामा प्रधानमन्त्री पार्टी अध्यक्ष केपी ओलीले आफै खुमलटारमा गएर पुष्पकमल दाहालाई भन्नुभयो तपाईले जुनखालको अभियोग लगाउनुभएको छ यो अभियोगलाई म अस्वीकार गर्छु तपाईले फिर्ता लिनुहोस् । पार्टीका आन्तरिक समस्याका बारेमा छलफल गरौ । यदि गर्नुहुन्न भने आधा सताब्दीको मेरो राजनीतिक जीवन माथि धावा बोलेपछि मैले प्रतिवाद गर्नुपर्छ । जनता न्यायाधीश हुन् । न्यायदिने जनतासंग मैले जानुपर्छ भनेर उहाँले बताउनुभयो । तर त्यसलाई गम्भीरताका साथमा लिईएन ।
कुरो के हो भने अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभव्यस्त हुनुभएको पुष्पकमल दाहाल हुनुहुन्थ्यो । पुर्व एमालेभित्र विभिन्न कारणले श्रृजना भएका अन्तरविरोधहरु थिए । त्यही अन्तरविरोधलाई प्रयोग गरेर उहाँ अगाडि बढ्न चाहनुभयो । दुर्रभाग्यले त्यसबेलाका नेकपा एमालेका नेताहरु पनि हिजोदेखिका संञ्चित अन्तरविरोधहरुलाई पुष्पकमल दाहाल जीको सेकताप प्राप्त गरेर अगाडि बढाउन खोज्नुभयो जस्तो लाग्छ । यो आरोप होइन । मेरो बुझाई हो ।
 

प्रश्न : यो बीचमा धेरै राजनीतिक घटना भए, अबको कार्यदिशा के हो ?
उत्तर : हिजो नेकपा भएको कालमा जे सुकै भएको होस् । अब त २०७५ साल जेठ २ गतेको अवस्थामा हामी आईपुग्यौ । अर्थात् माओवादी केन्द्र आफ्नो हिसाबले अगाडि बढ्ने भयो र नेकपा एमाले आफ्नो ढंगले अगाडि बढ्ने भयो । त्यो पुर्व अवस्थामा आईसकेपछि अब नेकपा एमालेलाई सुदृढ गर्नका लागि कसरी जाने भन्ने हिसाबले सोच्नु जरुरी छ ।

प्रश्न :  गाउँघरतिर घरझगडा धेरै हुन थाल्यो भने मानो छुट्याउने चलन छ । अहिले मानो छुट्याएर घर झगडा मिलाउन सकिदैन ?
उत्तर : तनाबका साथ छलफल गर्नुपर्ने विषय नै हो जस्तो लाग्दैन मलाई । सामान्य निजी पारिवारिक विषयमा पनि आजकल श्रीमान् श्रीमतीबीच सम्बन्ध राम्रो भएन भने सल्लाह गरेरै अब तिम्रो हाम्रो यो जोडी नचल्ने भो अब हामी अलग अलग रहौ भनेर भन्छन् रे । त्यो अभ्यास पनि प्रारम्भ भएको छ । राजनीतिमा त के भो र ? राजनीति यही समाजमा गर्ने हो । हाम्रा योग्यता र अयोग्यता यही समाजका मानिसहरुले जज गर्ने हुन् । त्यसकारणले यदि सम्बन्ध कायम नरहन सक्दा त सल्लाहाले नै गर्दा भईहाल्छ केही पनि फरक परेन । अब त्यसमा चाँही सम्बन्धीत पक्षहरु जोजो छौ । हाम्रो व्यवहार नचल्ने भयो । व्यवहार नचल्ने भएपछि आफ्नो आफ्नो गरौ है भन्ने खालको कुरो हुन्छ नि । त्यसो भन्न पनि सकिन्छ ।  अब हेरौ कसरी जान्छ ? नेकपा एमालेको महासचिवको नाताले म के भन्न चाहन्छु भने हामीले त्यसो गर्नु भन्दा पनि अहिलेको अवस्थामा भर्रसख आफ्ना कमिकमजोरीहरु के हुन् ति कमीकमजोरीहरु सच्याउने , आत्मसमिक्षा गर्ने , यसलाई जीत र हारको विषय बनाउनु हुदैन । हामीले गल्ति गर्यौ । हामीले नै गर्यौ । ठिक गर्यौ हामीले नै गर्यौ ।गल्ति कमजोरीको नोक्सानी हामी सबैले नै व्यहोर्नुपर्ने । लाभका अंसियार पनि हामी आफै हौ ।                                      

दोश्रो कुरा ...यो नै सबैभन्दा उत्तम र गर्नुपर्ने कुरा हो । म सबै साथीहरुलाई  यही आग्रह गर्न चाहन्छु । त्यसलाई कुनै तनाबमा इरिटेसनमा र कुण्ठा पालेर, द्वेष भावका साथ प्रस्तुत नभईकन लागेका कुरा खुलस्त भन्नुपर्छ । त्यो भन्दा फरक ढंगले जानुहुदैन । कमिकमजोरी छन् भने पनि वीथ डिउ प्रोसेस सच्याउने के के कुरा हुनसक्छ सच्याउनु पर्छ । यसरी जानुपर्छ भन्ने मलाई लाग्छ । होइन यदि त्यसरी जान नसक्ने हो भने पनि किन हामीले तत मम गरिरहन पर्यो र ? राजनीति आफ्नो स्वेच्छाले गर्ने हो । एउटा मान्यतालाई लिएर हामीले राजनीति गर्ने हो । देश र जनताको नाममा राजनीति गर्ने भनिसकेपछि के गर्दा इजअफ माइण्ड (मनको चैन) हुन्छ । त्यस अनुरुप गर्न सकिन्छ ।

प्रश्न : आज(विहिबार)को संसदीय दलको बैठकमा उहाँहरु(नेपाल पक्ष) नआउने कुरा छ , तपाईहरु के गर्नुहुन्छ ?
उत्तर : 
नेकपा एमालेको नवौ महाधिवेशले निर्वाचित गरेको अध्यक्ष केपी ओली । निर्वाचित गरेको महासचिव म । हाम्रो विधानले अध्यक्ष र महासचिवले कार्यकारी हैसियतले भूमिका खेल्छन् । अध्यक्ष र महासचिवको तर्फबाट नै बैठक बोलाईएको हो । संसदीय दलको बैठक दलको नेताको तर्फबाट पार्टी अध्यक्ष प्रधानमन्त्री जीले बोलाउनुभएको हो । त्यो बैठकमा आउनु सबैको कर्तव्य हो । बैठकमा हामीले बोलाएका छौ उहाँहरु आउनुहुन्छ । त्यस विषयमा पनि आवश्यकता अनुसार छलफल हुन्छ । विशेष बैठक भनेर हामीले २८ गते(फागुन) गरेका थियौ । विशेष बैठक किन जरुरी थियो भने नेकपा एमालेको विधानलाई यजइटइज राखेर बैठक नै गर्न सकिदैन्थ्यो । त्यसकारणले पनि विशेष बैठक भनेर गर्नुपथ्र्यो । बाधा अड्काउ फुकाउने केही केही बैठकहरु  नगरी नहुने थियो । त्यो गरिसकेपछि बैठक औपचारिक ढंगले जानसक्थ्यो । अध्यक्ष र महासचिवको हैसियतमा त्यो बैठक आयोजना भयो । त्यो बैठकले मुलतः ७ गतेको केन्द्रीय कमिटीको पुर्ण बैठकमा प्रस्तुत गर्ने एजेण्डाहरु तयार गरेको हो । त्यो प्रस्ताव त्यो (७ चैत्र) बैठकमा प्रस्तुत गरिन्छ ।
 

प्रश्न : दुई समुहको आ आफ्नो अडानले आफ्ना कार्यकर्ता कतै भड्किएलान् कि भन्ने चिन्ता छैन ? के बुझ्ने एमालेको सामान्य मतदाताले ?
उत्तर : 
 यो हाम्रो पार्टीको जीवन कस्तो छ भने । हामीले अनेक उतारचढाव झेलेका छौ । उतारचढाव भोगेका छौ । हामीसंग एकता, फुट अनि जुटका पनि अनुभव छन् । एकता गर्दाको अनुभव पनि छ । एकता टुटेर दुख पाएको अनुभव पनि छ हामीसंग । अनि ती अनुभव प्राप्त गरेका नेता साथीहरु पनि हुनुहुन्छ हामीसंग । हाम्रो पार्टीले अनेकखालका उतारचढावहरु झेल्दै आएको छ । हामीले यस्तो अप्ठ्यारो अवस्थामा धैर्यता राख्नुपर्छ । संयमता राख्नुपर्छ । एकले अर्कालाई आरोप लगाउने जस्तो मात्रै कुरा गर्नुहुदैन । हामीले यतिबेला पार्टी आन्दोलनलाई अगाडि बढाउने विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने जरुरत छ । आज नेकपा एमालेको जीवनमा देखा परेको यो कुराले हामीलाई यो पार्टीको नेतृत्वमा अगाडि बढेको आन्दोलनलाई कसरी अगाडि बढाउने , यसमा आधारित भएर पार्टीलाई कसरी अगाडि बढाउने ? हाम्रो पार्टीको राजनीतिक कार्यदिशा र पार्टी निर्माणको दिशा के हो ? त्यसमा केन्द्रीत भएर बहस छलफल केन्द्रीत गर्ने । हामीले कुनैपनि किसिमको अधिनायकवाद मञ्जुर गर्दैनौ भन्दछौ । हाम्रो संगठनात्मक सिद्धान्तमा कतिपय चाही अधिनायकवादको गन्ध आउने केही कुरा छन् भने त्यो अभ्यासलाई पनि पुन व्यवस्थित गर्नुपर्ने जरुरत छ । पार्टीले सरकार सञ्चालन गर्ने भनेको कुन किसिमले हो ? हाम्रो जस्तो देशको विशिष्ठ अवस्थामा पार्टीले सरकार चलाउने भन्नाले के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरालाई ख्याल गर्नु जरुरी छ । र लोकतान्त्रिक अभ्यासको नाममा हामीले विगतमा जे जे कुरा गरेका छौ त्यसलाई पनि रिभिज गर्नुपर्ने जरुरत छ ।

प्रश्न : नेकपा एमाले भित्र अहिले देखिएको अन्तरसंघर्षको निकासले कस्तो स्वरुप लेला आकलन गर्न सकिने अवस्था छैन । महासचिवको हैसियतले के भन्नुहुन्छ ?
उत्तर : 
देशभरीका कार्यकर्ता र नेकपा एमालेलाई माया गर्ने सबै साथीहरुलाई भन्न चाहन्छु यतिबेला उत्तेजना र आवेशबाट होइन ,संयमता धैर्यताका साथमा हामीले अगाडि बढ्नुपर्छ । र विगतका अनुभवहरुलाई पनि सम्झना गर्नुपर्छ  । पार्टी एकता सबैभन्दा ठूलो चीज हो । एकतामा आँच नपुगोस् भन्नका लागि हामी सबैले संयमता धैर्यताका साथ अगाडि बढेर, अब नयाँ ढंगले पार्टी आन्दोलनलाई कसरी अगाडि बढाउने, यो चुनौतिलाई कसरी सामना गर्ने भन्ने बारेमा सोच्नुपर्छ । सबै साथीहरुलाई म भन्न चाहन्छु, चुनौतिका गर्भभित्र अवसरहरु नि लुकेका हुन्छन् । त्यो अवसरलाई चिर्नुपर्छ । त्यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने काम गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस