नवलपरासी बर्दघाट–सुस्तापूर्वमा जिल्ला जनगणना कार्यालय स्थापना

रासस

बुधबार, ०४ चैत्र २०७७, १२ : २८
नवलपरासी बर्दघाट–सुस्तापूर्वमा जिल्ला जनगणना कार्यालय स्थापना

नवलपरासी । राष्ट्रिय जनगणना २०७८ का लागि नवलपरासी बर्दघाट–सुस्तापूर्वमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । जिल्लामा तथ्याङ्क कार्यालय नभएकाले भाडाको घरमा कार्यालय स्थापना गरिएको हो । 

मङ्गलबार कावासोतीको थकालीचोकमा जिल्ला कार्यालयको स्थापनासँगै गणक र सुपरीक्षकका लागि हस्तलिखित दारखास्तसमेत आह्वान गरिएको छ । कार्यालय प्रमुख जीतेन्द्र रानाभाटकाअनुसार जिल्लामा ४६२ गणक र १०४ सुपरीवेक्षकको आवश्यकता पर्नेछ । दुवै पदका लागि चैत ५ देखि ११ गतेसम्म कार्यालयमा नै पुगेर हस्तलिखित निवेदनसहित दरखास्त फारम भरेर बुझाउन सकिने रानाभाटले जानकारी दिए । 

गणक र सुपरीवेक्षकका लागि राष्ट्रिय योजना आयोगअन्तर्गत केन्द्रीय तथ्याङ्क विभागको वेभसाइटमार्फत अनलाइन निवेदन दिन सकिने व्यवस्था छ । यद्यपि जिल्लाको सबै क्षेत्रमा इन्टरनेटको पहुँच नपुगेको भन्दै जिल्ला कार्यालयमा नै पुगेर फारम भर्न सकिने व्यवस्था गरिएको रानाभाटले जानकारी दिए । 

गणक र सुपरीवेक्षकका लागि स्थानीय, महिला, जनजाति, आदिवासी, दलित, अनुभवीलाई विशेष प्राथमिकता दिइएको रानाभाटले बताए । राष्ट्रिय जनगणनाका लागि जिल्ला कार्यालय स्थापना गरिए पनि कार्यालयका लागि आवश्यक जनशक्ति भने पर्याप्त नभएको उनले बताए। 

कार्यालयमा दुई जना कर्मचारीमात्रै कार्यरत भएको भन्दै उहाँले प्रमुख जिल्ला अधिकारीसँग काजमा कर्मचारी पठाउन आग्रह गरिएको बताए । कर्मचारी पठाउने विषयमा प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिए पनि सबै कार्यालयमा कर्मचारी अभाव हुँदा आवश्यकताअनुसार कर्मचारी पाउन मुस्किल भएको रानाभाटको भनाई छ । 

विसं २०७८ वैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधिमा सुपरीवेक्षकद्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने, २०७८ जेठ २५ देखि असार ८ सम्म १५ दिनको अवधिमा गणकहरुबाट मूल गणनाको काम हुने र असार ८ गते जनगणना दिवस मनाउने कार्यक्रम छ । एक सुपरीवेक्षकले २० दिनको अवधिमा एक हजार घरपरिवारको सूचीकरण तयार गर्नुपर्ने छ । त्यस्तै एक सुपरीवेक्षकको मातहतमा रहेर चार गणकले काम गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस