नेपालमा नै ठुलो क्षमताको ओभरहेड पानी ट्याङ्की चितवनमा निर्माण

प्रकाश सिग्देल

आइतबार, ०१ चैत्र २०७७, १६ : ५२
नेपालमा नै ठुलो क्षमताको ओभरहेड पानी ट्याङ्की चितवनमा निर्माण

चितवन । चितवनको भरतपुरमा भरतपुर खानेपानी व्यवस्थापन बोर्डको परिसरमा नेपालकै ठुलो ओभरहेड पानी ट्याङ्की निमार्ण थालिएको छ । नेपाल सरकार र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा भरतपुर महानगर ११ लाई लक्षित गरी जकडीमाई सहलगानी खानेपानी आयोजना अन्तर्गत २७ करोड १७ लाख ४५ हजार ५ सयको लागतमा ९ लाख लिटरको सहलगानी खानेपानी आयोजना निमार्ण थालेको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती दाहालले बताए ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नेपालमा नै पहिलो स्टील स्टक्चरको यति ठुलो क्षमताको ट्याङ्की भरतपुरमा निमार्ण थालेको दाहालको भनाई छ । देशमा हालसम्म ४ लाख ५० हजार लिटर भन्दा ठुलो क्षमताको ओभरहेड ट्याङ्की निर्माण नभएको र हाल सम्म निर्माण भएका ट्याङ्की भन्दा दुई गुणा बढी क्षमताको ट्याङ्की निर्माण थालिएको दाहालले बताए ।

२०५६ सालमा जापान सरकार अन्तर्गतको जाईकाले निर्माण गरेको स्टील स्टक्चरको ओभरहेड ट्याङ्कीको अवस्था जिर्ण भएको, लिकेज सिपेज देखीन थालेकाले  त्यसलाई मर्मत गर्ने सामाग्री र प्रविधि नेपालमा नभएकाले ट्याङ्कीको विकल्प खोज्नु परेको दाहालले बताए । खानेपानिको माग धान्न  ९ लाख लिटर क्षमताको ट्याङ्की निमार्ण थालिएको दाहालको भनाई छ । यसले भरतपुर महानगरपालिका ११ का करिव १५ हजार मानिसलाई स्वच्छ खानेपानी प्रदान गर्ने दाहालले बताउनु हुन्छ ।

ट्याङ्कीको अहिले फाउण्डेसनमा आर सिसीको काम भईराखेको छ । सिएबी प्रेरा जेभी नयाँ बाटो ललितपुरले ट्याङ्की निर्माण गरिरहेको छ । २०७७ असार ८ गते सम्झौता भई २०७९ असार ७ गते दुई वर्षमा सक्ने गरी ट्याङ्की निर्माणको काम धमाधम भईराखेको निर्माण आयोजनाका म्यानेजर खुमान्द कंडेलले बताए ।  आफुहरुले समयमै निर्माण सम्पन्न गर्ने कंडेलले बताए ।

७० किलोमिटर पाईप बिस्तार गर्नुपर्नेमा हाल सम्म ३० किलोमिटर पाईप बिस्तार गरिसकेको र बाँकि काम पनि तिव्र रुपमा अगाडी बढेको उनले बताएका छन् । पानी ट्याङ्कीको भरतपुर महानगर प्रमुख रेनु दाहालले शिलन्यास गरेकी हुन् । 

प्रतिक्रिया दिनुहोस