प्रजातन्त्र स्थायित्वका लागि महिला सहभागिताले सहयोग गर्ने : सभापति देउवा

रासस

शनिबार, २९ फागुन २०७७, २० : ५८
प्रजातन्त्र स्थायित्वका लागि महिला सहभागिताले सहयोग गर्ने : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि कसैले पनि आक्रमण गर्न नसक्ने गरी स्थापित गर्न महिलाको सहभागिताले सहयोग गर्ने बताउनुभएको छ ।

पार्टीको महिला विभागले आज केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको दुई दिने वाग्मती प्रदेशस्तरीय भेला एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले एकदलीय सर्वसत्तावाद लाद्न चाहने दलहरुले महिलाको हित नगर्ने बताउनुभयो । प्रजातन्त्र कसैले खोस्न नसकोस् भनी महिला सङ्गठित हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।

“संसद् बोलाउन पुग्ने सांसदको सङ्ख्यासमेत पार्टीसँग छैन, जति सङ्ख्या भए पनि देशको राजनीतिलाई सही बाटोमा हिँडाउन कांग्रेस लाग्छ, सबै लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरेर हामी अघि बढ्छौँ”, उहाँले भन्नुभयो । 

उपसभापति विलेन्द्र निधिले लिक बाहिर गएको गाडी सही ठाउँमा आएजस्तो प्रतिनिधिसभा पुनःस्थापना भए पनि सिज भएको गाडीको इञ्जिन मर्मत नभएकाले देशमा समस्या देखिएको बताउनुभयो । कांग्रेसबाट निर्वाचित सांसदले बिग्रिएको गाडीको इञ्जिन मर्मत गर्ने उहाँको भनाइ थियो ।

सहमहामन्त्री डा प्रकाशशरण महतले सहजरुपमा वैकल्पिक सरकार बन्ने अवस्था आए मात्र कांग्रेसले नेतृत्व गर्ने, अप्राकृतिक गठबन्धनमा नलाग्ने बताउनुभयो । अमेरिकाको सिनेटमासमेत १२ प्रतिशतभन्दा बढी महिला सभागिता नभएकामा नेपालको संविधानमै तीनै तहका संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता व्यवस्था हुनु दक्षिण एशियामै उदाहरणीय भएको उहाँले उल्लेख गर्नुभयो ।

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान राजनीतिक सङ्कटमोचनका लागि पार्टीले अग्रसरता लिनुपर्ने बताउनुभयो । पार्टीको केन्द्रीय खेलकूद विभागका प्रमुखसमेत रहनुभएका नेता बस्नेतले द्वारिकादेवी ठकुरानी, मङ्गलादेवी सिंह र शैलजा आचार्यको स्मृतिमा खेलकूद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । बालिका र किशोरी बलात्कारका घटना बढिरहेकाले आत्मरक्षाको तालिमसमेत दिने तयारी विभागले गरेको उहाँले बताउनुभयो ।

केन्द्रीय सदस्य महालक्ष्मी (डीना) उपाध्यायले पार्टी केन्द्रीय समितिका १४ जना पदाधिकारीमध्ये विधान संशोधन गरेर एकतिहाइ महिलाको प्रतिनिधित्व हुने व्यवस्था गर्न माग गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य अम्बिका बस्नेत, शिवप्रसाद हुमागाईँ, विष्णुविक्रम थापा र किरण गिरीले अहिले देखिएको सङ्कट अन्त्य गर्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताउनुभयो । 

सांसद उमा रेग्मीले पार्टीको वडादेखि केन्द्रसम्म ३३ प्रतिशत महिला सहभागिताको वैधानिक व्यवस्था गरेकामा अब केन्द्रीय पदाधिकारीमा पनि एकतिहाइको वैधानिक व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, महासमिति सदस्य लीला नेपाल, वाग्मती प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक राधा घले, वाग्मती प्रदेशसभा सदस्यद्वय विजया केसी, जीवन डङ्गोल, विभाग प्रमुख ईश्वरी न्यौपानेलगायतले महिलालाई घरबाट राजनीतिमा सक्रिय बनाउन पुरुषको सहयोग हुनुपर्ने उल्लेख गर्नुभयो । 

आइतबारसम्म चल्ने भेलामा वाग्मती प्रदेशको १३वटै जिल्लाका महिला नेतृहरुको सहभागिता छ । भेलापछि घोषणापत्रसमेत जारी गरिने सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस