केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि र विकास भयो भन्न नसकिनेः अध्यक्ष प्रचण्ड

रासस

शनिबार, २९ फागुन २०७७, २० : ५२
केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि र विकास भयो भन्न नसकिनेः अध्यक्ष प्रचण्ड

file Photo

काठमाडौं । नेपालले कस्तो विकासको ढाँचा अपनाउने र त्यसलाई कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यसहित लेखक प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’ नामक पुस्तक सार्वजनिक भएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एक समारोहका बीचमा उक्त पुस्तक सार्वजनिक गर्नुभयो । सो अवसरमा अध्यक्ष दाहालले गतिशिल र सिर्जनशील लेखकको रुपमा परिचित प्रकाशको दुवै पुस्कृत आफैँले सार्वजनिक गर्न पाएकामा खुसी व्यक्त गर्दै आर्थिक समृद्धि र विकासका लागि एउटा महत्वपूर्ण सन्दर्भ सामग्री भएको बताउनुभयो । उहाँले केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि र विकास भयो भन्न नसकिने र त्यसले आमजनतालाई केही फरक नपार्ने स्पष्ट पार्नुभयो । 

उहाँले आर्थिक समृद्धिका सन्दर्भमा पुस्तकले विकासको नयाँ आयाम थप्दै बहसको सुत्रपात गरेको उल्लेख गर्नुभयो । विकास र समृद्धिका लागि युवामा  हुटहुटी जरुरी रहेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले केही नयाँ गरौँ, केही राम्रो गरौँ, देश बनाऔँ भन्ने ध्येय राख्नुपर्नेमा जोड दिनुभयो । 

लेखक एवं विश्लेषक युग पाठक तथा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो । लेखक प्रकाशले  मानिसमा चेतना विकास हुँदै जाँदा त्यसले निकास खोज्ने र सोही कारणबाट आफू लेखक बन्न पुगेको बताउनुभयो । उहाँले आफ्नो पुस्तक समृद्धिको रोडम्यापलाई ‘एन्टी थेसिस’ को रुपमा रहेको दाबी गर्नुभयो । 

उहाँले पुस्तकमा मानवजातिको हितमा कसरी जान सकिन्छ भन्ने विषयलाई महत्वका साथ उठाएको भन्दै आगामी पाँच सय वर्षपछि मानव जातिको अवस्था कस्तो हुन्छ भन्ने बारेमा केही अनुमान गर्न खोजेको दाबी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस