गन्तव्य ब्रान्डिङ गर्दै पर्यटन बोर्ड

रासस

शुक्रबार, २८ फागुन २०७७, २० : १७
गन्तव्य ब्रान्डिङ गर्दै पर्यटन बोर्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ गर्न शुरुआत गरेको छ । बोर्डले यसको शुरु गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम थालेको बोर्डले क्रमशः अन्य गन्तव्यलाई पनि ब्रान्डिङ गर्दै लैजाने योजना बनाएको हो । 

गन्तव्यलाई सरल र स्पष्टरूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यकता महशूस गरी ब्रान्डिङको शुरुवात गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले जानकारी दिनुभयो । “कुनै पनि पर्यटकीय गन्तव्यको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ । ती विशेषतालाई समेट्दै ब्रान्डिङ गर्दा लुम्बिनीलाई आकर्षक गन्तव्य बनाइ राष्ट्रिय एवं अन्तरराष्ट्रियरूपमा चिनाउन थप बल सहयोग पुग्ने छ ।

हामीले यो प्रयास गरेका छौँ । विस्तारै अन्य गन्तव्यको पनि ब्रान्डिङ गर्दै लगिने छ”, उहाँले भन्नुभयो । लुम्बिनीको सबै पक्षलाई समेटेर पहिलो पटक ब्रान्डिङ गरिएको यसले अन्य गन्तव्यलाई पनि सोही अनुरुप विकास गर्न नयाँ सोच अगाडि आउने उहाँले बताउनुभयो ।

यसरी गरिँदैछ ब्रान्डिङ 
जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन लुम्बिनीको ब्रान्डिङ गरिएको छ । जसमा लुम्बिनीको प्राकृतिक सुन्दरतासहित ॐ माने पद्मे हुँको गुन्जायमान वातावरण, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचिन सहर र बोधिवृक्षलाई ब्रान्डिङमा संयोजन गरिएको छ । यस्तै लुम्बिनीको टोपीग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चरा प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्रान्डिङ’मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार ब्रान्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरका विभिन्न कलर प्रयोग गरिएको छ । ब्रान्डिङपछि त्यहाँबाट प्रकाशन हुने पुस्तक, ब्रोसर, झोला तथा श्रव्य दृष्यका सामग्रीबाट एउटैखाले सन्देश प्रवाह हुने छ । त्यस्तै कार्ड, पोस्टकार्ड, पोस्टर र ब्यानरका लागि ब्रान्डिङ गरिएको छ । 

कस्तो रङको लिपि र लोगो प्रयोग गर्ने भनेर पनि उल्लेख गरिनेछ । यहाँ हुने पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा त्यसलाई उपयुक्त हुने गरी ब्रान्डिङका प्रकार तयार गरिएको छ । नेपालले यस अद्धि नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाएर समग्र देशको ब्रान्डिङ गरेको थियो । नेपाल जस्तै थाइल्यान्डले एमाइजिङ थाइल्यान्ड, भारतले अतुल्य भारत, मलेसियाले मलेसिया इज टुुर्ली एसियाजस्ता थिमबाट आफ्नो देशको ब्रान्डिङ गर्दै आएइका थिए । 

प्रतिक्रिया दिनुहोस