दक्षिण अफ्रिकी जुलु समुदायका राजाको निधन

रासस

शुक्रबार, २८ फागुन २०७७, १३ : २६
दक्षिण अफ्रिकी जुलु समुदायका राजाको निधन

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ । 
मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका राजा गूडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ ।

राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका राजा गूडविल ज्वेलिथिनीको शुक्रबार बिहान निधन भएको उल्लेख छ । राजा गूडविलले जुलु देशको राजाका रुपमा निकै लामो अवधि शासन गर्नु भएको थियो । उनको शासनकाल झण्डै पाँच दशक रहेको थियो । सन् १९४८ मा उत्तरी क्वाजुलु–नाटालको नोङ्गोमामा जन्मनु भएका गूडविल सन् १९६८ देखि राजगद्दीमा रहेका थिए ।

परम्परागत नेतृत्व सम्बन्धी दक्षिण अफ्रिकाको संविधान बमोजिम जुलु राजाले आफ्नो समुदायको प्रतिनिधित्व गर्न सक्ने व्यवस्था छ । हाल यो पद कार्यकारी नभएर समुदायको प्रतिष्ठा र संस्कृतिसँग जोडिएको छ ।(रासस–एएफपी)

प्रतिक्रिया दिनुहोस