चैत १५ देखि मेलम्चीको पानी वितरण गरिने

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १६ : ०७
चैत १५ देखि मेलम्चीको पानी वितरण गरिने

काठमाडौं । सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो ।

अहिले सुरुङबाट आइरहेको बागमतीमा हालिँदैछ । शुक्रबारदेखि बागमतीमा पानी हाल्न बन्द गरेर सुरुङ भर्न थालिने छ ।  सुरुङ भरिन ३(४ दिन लाग्ने आयोजना प्रमुख तिरेश खत्री बताउँछन् ।

सुरुङ भरिएपछि १० दिन जति त्यतकै राखेर पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खसालिने छ । पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाइने खत्रीले बताए । चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुने छ । तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ ।

‘यसो गर्दा पानी प्रशोधन केन्द्रको परीक्षण पनि हुन्छ’ उनले भने,’३ वर्षअघि नै बनेको पानी प्रशोधन केन्द्रको परीक्षण हुन नसक्दा खरिद सम्झौता सक्रिय छ, ठेकदारलाई आयोजनाबाट विदा गर्न पनि प्रशोधन केन्द्रको परीक्षण गरिहाल्नुपर्न अवस्था छ ।’  अहिलेसम्म सुख्खा मैसममा दैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको छ। अब १७ करोड थपिएर वितरण क्षमता ४ गुणा बढ्नेछ।

नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ । खत्रीका अनुसार सुख्खायामभरि मेलम्चीको पानी केयूकेएलको प्रणालीमा पठाइनेछ ।वर्षायाम लागेपछि भने एकपटक सुरुङ खाली गरेर त्यसको सुपरीवेक्षण गर्ने उनले बताए ।

उद्घाटन गर्ने हतारोमा सरकारले सुरुङको सपरीवेक्षण गर्ने प्रोटोकल मिच्न लागेको भन्दै विज्ञले विरोध जनाउँदै आएका छन् । आयोजना प्रमुख खत्री भने ३ महिनापछि खाली गरेर सुरुङको अवस्था हेर्ने योजना रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस