काठमाडौँ । २०७६ वसन्तकालीन हिमाल आरोहण सिजनमा सगरमाथा चुचुरोमुनिको हिलारी स्टेपमा आरोहीहरूको भीड देखिने एउटा फोटो विश्वभर भाइरल भयो । नेपाली आरोही निर्मल पुर्जाले खिचेको उक्त फोटो ‘सगरमाथामा ट्राफिक जाम’ शीर्षकमा विश्वभरका दर्जनौं सञ्चारमाध्यमहरूको कभरेजमा पर्यो । उक्त तस्बिर छाप्ने न्युयोर्क टाइम्सलगायत अधिकांश विदेशी सञ्चारमाध्यमले नेपाल सरकारको आरोहणमा फितलो व्यवस्थापन भएको भनी आलोचना गरे ।
त्यसैताका बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बीबीसी वर्ल्ड सर्भिसको स्टुडियोमा पनि यस विषयमा प्रश्न सामना गर्नुपर्यो । बीबीसीलाई प्रधानमन्त्री ओलीले ट्राफिक जाम हुने गरी त्यस वर्ष धेरै पर्वतारोहीलाई नेपाल सरकारले अनुमति नदिएको जिकिर गर्दै उक्त फोटो प्रोपोगान्डाका रूपमा आएको भनी खण्डन गरे । यसरी आरोहीहरूले सगरमाथा लगायतका हिमालमा जथाभावी फोटो तथा भिडियो खिचेर सार्वजनिक गर्ने क्रम हरेक सिजनमा वृद्धि हुँदै गएपछि पर्यटन विभागले मंगलबार नयाँ नियम ल्याउँदै यसमा कडाइ गरेको छ ।
‘कुनै पनि पर्वतारोही दल तथा दलका सदस्यले फोटो, भिडियो तथा फिल्मिङ सम्बन्धी काम गर्दा आफू सम्बद्ध दल र दलका सदस्यको आरोहण गतिविधिबाहेक अन्यको फोटो, भिडियो खिच्ने तथा फिल्मिङ सम्बन्धी काम गरी त्यसको प्रचारप्रसार तथा प्रकाशन गर्न पाइने छैन,’ आरोहणलाई व्यवस्थित गर्न जारी गरिएको उक्त नियममा भनिएको छ ।
‘यो नियम सगरमाथासहित सबै हिमालका लागि हो,’ पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले भनिन्, ‘यस्ता गतिविधिले हिमाल आरोहणमा असर र प्रभाव पारेकाले यस्ता गतिविधिलाई रोक्न खोजिएको हो ।’ उनका अनुसार, भूकम्पका बेला सगरमाथामा गएको हिमपहिरो, आरोहीका शव, त्यहाँ थुप्रिएको फोहोरलगायत नकारात्मक विषयमा जथाभावी फोटो भिडियो खिचेर बेचबिखन गर्ने, नेपालको आरोहणबारे नकारात्मकता फैलाउने गतिविधि रोक्न विभागले कडाइ गरेको हो ।
विभागले अब आरोहणबाहेक अन्य थप गतिविधि गर्ने भए तीबारे अनिवार्य जानकारी गराउँदै विभागको स्वीकृत लिनुपर्ने नियम बनाएको छ । ‘यदि कुनै विदेशीले जथाभावी फोटो वा भिडियो खिचेर प्रचार गरेको पाइएमा विदेशस्थित नेपाली दूतावासमार्फत तिनलाई कारबाहीको दायरामा ल्याइने निर्देशक आचार्यले बताइन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २६ फागुन २०७७, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालिको आरोहण सिजनमा सयौँ चढे सगरमाथा
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
असई कुन्जाङले चढिन् सगरमाथा
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र