आगलागीबाट रु १२ लाख ६० हजारको क्षति

रासस

मंगलबार, २५ फागुन २०७७, २० : ४७
आगलागीबाट रु १२ लाख ६० हजारको क्षति

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा आज पाँच पसलमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोजबहादुर घिसिङले सञ्चालन गरेको मासु पसलबाट शुरु भएको आगलागी अन्य चार पसलमा समेत फैलिँदा करीब रु १२ लाख ६० हजार बराबरको सामान जलेर क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

अचानक बिजुलीको तार सर्ट भई घिसिङको पसलमा आगलागी भएपछि सँगैका अन्य पसलमा समेत सल्किएर आगलागी भएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट मासु पसलमा रहेको जिउँदो बोइलर कुखुरा २५ वटा, तयारी मासु र फ्रिज एकथान, रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा७५प ५८२४ नं को मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । 

नारायण साडेमियाले सञ्चालन गरेको चियापसलमा रहेको फ्रिज एकथान, टेबुल, कुर्सी नष्ट भएको छ भने विमल घिमिरेले सञ्चालन गरेको फ्रेन्सी पसलमा रहेका कपडा र नरेश कर्माचार्यको कोठामा रहेका दराज, पलङ, कार्पेट, बेड विस्तारा र अन्य सामानसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी आजै भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोट बेसीस्थित ९२ वर्षीया पाडासैनी तामाङको दुई तले कच्ची घरमा आगलागी हुँदा रु आठ लाख ५४ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । 

प्रहरी परिसर भक्तपुरका प्रनाउ गिरीका अनुसार आगलागी पछि नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सक्रियतामा भक्तपुर, काठमाडौँ, ललितपुरबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको पाइए पनि थप अनुसन्धान भइरहेको बताउनुभयो ।