भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा धनगढा सहलगानी खानेपानी आयोजनाको उद्घाटन

प्रकाश सिग्देल

मंगलबार, २५ फागुन २०७७, १४ : ०५
भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा धनगढा सहलगानी खानेपानी आयोजनाको उद्घाटन

चितवन । धनगढा सहलगानी खानेपानी आयोजनाको उद्घाटन भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट शिलान्यास भएको यो आयोजनाको निर्माण अवधिभन्दा दुई महिना अगाडि निर्माण सम्पन्न गरी भरतपुर महानगर प्रमुख रेनु दाहालले नै उद्घाटन गरेकी हुन् ।

नेपाल सरकार भरतपुर खानेपानी ब्यवस्थापन बोर्ड र संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भरतपुर महानगर र उपभोक्ताको समेत संयुक्त लगानीमा भरतपुर महानगरपालिका १२ मा  निर्मित खानेपानी आयोजना शर्मा सगरमाथा भिमेश्वर जेभीले निर्माण गरेको हो । आफूहरुले निकै मेहनत र सबैको साथका कारण समयभन्दा अगाडि निर्माण कार्य पूरा गर्न सफल बनेको निर्माण ब्यवसायी सहदेव खड्काले बताए ।

२ हजार १ सय १९ घरधुरीका १४ हजार ५ सय ६३ जनालाई स्वच्छ खानेपानी प्रदान गर्ने उद्देश्यले खानेपानी आयोजना निर्माण थालिएको भरतपुर खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती दाहालले बताए । यो आयोजना निर्माणका लागि २१ करोड ७७ लाख इस्टिमेट भएको र निर्माण ब्यवसायीले १२ करोड ७७ लाखमा ठेक्का लिएर काम  सुरु गरी तोकिएको अवधिभन्दा दुई महिना अगाडि नै काम सकेको उनी बताउँछन् ।

आयोजना निर्माण पूरा भई पानी वितरण गरिरहेको र खानेपानी पाईप मर्मत र सञ्चालनमा अहिले चुनौती भएको उनको भनाई छ ।  सडक बिस्तार नाला बिस्तारका क्रममा खानेपानीको पाईप काटिने कारणले मर्मत संभारमा समस्या भएको दाहालको भनाई छ ।

७१ सालमा सामान्य डिप बोरिङ र ६०० मिटर पाईप बिस्तार गरी पानी वितरण गरेको यो आयोजनालाई बिस्तार गरी भरतपुर महानगरका ९, ११ र १२ का वडावासीलाई नियमित पानी प्रदान गर्ने  उद्देश्यसहित सबै प्रक्रिया पूरा गरी १८ महिनामा निर्माण सक्ने उद्देश्यसहित  २०७४ साल जेठ २१ गते निर्माण सम्झौता भएको र अवधिभन्दा २ महनिा पहिले नै काम सकिएको दाहाल बताउँछन् । दाहालले अवधि अगाडि नै काम सकेको भन्दै निर्माण ब्यवसायीलाई आभार प्रकट गरे ।

कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहाल र विशिष्ट अतिथि उपप्रमुख पार्वती शाह ठकुरीले निर्माण ब्यवसायी सहदेव खड्का सहित खानेपानी आयोजना निर्माणमा लाग्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरेका थिए ।  

कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख तथा खानेपानी ब्यवस्थापन बोर्डकी अध्यक्ष रेनु दाहालले महानगरवासीलाई सर्वसुलभ र स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ महानगरमा धमाधम खानेपनी आयोजना सञ्चालन भएको बताइन् ।

भरतपुर महानगर २९ चौकीडाँडादेखि २८ गोलाघाटसम्मका स्थानीय बासिन्दाको स्वच्छ पिउने पानी खान पाउनु पर्ने अधिकार रहेको र ती सबै नागरिकलाई स्वच्छ खानेपानी प्रदान गर्न आफनो टिम निरन्तर लागिरहेको दाहालको भनाई छ ।

आफूहरुले महानगरमा धेरै राम्रा र महत्वपूर्ण दीर्घकालीन महत्व राख्ने कामहरु गरेको र अब केही समयमै सबैको नतिजा देखिने उनले बताइन् । सिटी हल, गोन्द्राङ–पुलचोक सडक, ८८ किलोमिटर रिङरोड, लिङ्करोड, ८० किलोमिटर सडकमा एकनासको स्मार्ट सडक बत्ती जडान, नदी किनारलाई सि बिच निर्माण, लायन्सचोकमा ३ अर्ब लगानीमा अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण लगायतका कामहरु थालनी भएको दाहालले बताइन् ।

अबको बाँकी समयमा जनतामा गरेका प्रतिवद्धता पुूरा गर्ने र यस अगाडि थालनी भएका कामलाई पूर्णता दिने गरी आफूहरु लागिपरेको दाहालको भनाई छ ।  महानगरले कृषि, शिक्षा, पर्यटन पूर्वाधार सबैमा निरन्तर काम गरिरहेको र अबको केही वर्षमा चितवन देशको प्रमुख विकसित सहर बन्ने मेयर दाहालले बताइन् ।

महानगर उपप्रमुख पार्वती शाह ठकुरीले चितवन विकासमा तीब्र रुपमा अगाडि बढेको र राज्यलाई नै चिनाउने ठूला महत्वपूर्ण आयोजनाहरु चितवनमा बनेको बताइन् । विकासका लागि यो पार्टी उ पार्टी नभनी सबै मिलेर हातेमालो गर्नु पर्ने उनको भनाई छ ।

वडा नम्बर ९ का अध्यक्ष यमलाल कँडेलले आफ्ना वडामा केहि निकै विपन्न समुदाय रहेको र उनीहरुका लागि खानेपानी जडान गर्दा सकेसम्म निःशुल्क जडान गरिदिन आवश्यक रहेको बताए ।

कोकाकोला कम्पनीले प्रभावित समुदायका लागि खानेपानीका लागि भनी २७ लाख बजेट दिएको र त्यो बजेट पानी ट्यांकी निर्माणमा लगानी भएकाले त्यही बजेटबाट आफ्ना उपभोक्ताका लागि निःशुल्क धारा जडान गर्न उनको आग्रह थियो ।

भरतपुर १२ का अध्यक्ष नरेन्द्र कन्दङ्वाले भरतपुर महानगरको पहलमा खानेपानी ट्यांकी निर्माणसंगै घरघरमा धारा बिस्तार भएपछि आफ्ना वडावासीलाई धेरै लाभ भएको बताए । उनले आफ्नो वडाको विकासका लागि वडाबाट गएको कुनै पनि फाईल आजका मितिसम्म महानगरबाट फिर्ता नआएको र हरेक योजनामा महानगर प्रमुख र उपप्रमुखको साथ रहेको बताए ।

संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका प्रमुख जगन्नाथ दासले सबैको साथ र सहयोगले निर्धारित अवधिभन्दा अगाडि नै कामले पूर्णता पाएको बताए । उपभोक्ता समितिका अध्यक्ष मदन घिमिरेले सबै सरोकारवाला निकायको साथ र सहययोगका कारण निर्धारित मितिभन्दा चाँडो काम सम्पन्न गरी उपभोक्तालाई खानेपानी प्रदान गर्न सकिएको भन्दै सबैलाई आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस