प्रधानमन्त्री ओली फाल्न तात्तिए काँग्रेस सभापति देउवा

माओवादी केन्द्र र जसपासंग गठबन्धन गर्ने मुडमा देउवा

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १० : ०९
प्रधानमन्त्री ओली फाल्न तात्तिए काँग्रेस सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट हटाउन प्रचण्ड र माधव नेपालले प्रतिनिधीसभा पूर्नस्थापना भए देखिनै खोजेका थिए । देउवा निवासमै पुगेर प्रचण्ड र नेपालले प्रधानमन्त्रीका विषयमा छलफल गर्न खुल्ला रहेको सन्देश पनि देउवालाई दिएका थिए । स्यवं काँग्रेसभित्र पनि अब ओलीलाई बिदाई गर्नुपर्ने र त्यसका लागि काँग्रेसले निर्णायक भूमिका खेल्नुपर्ने दबाब देउवालाई थियो । तर देउवा मुखैमा आएको प्रधानमन्त्री पदमा समेत चासो नदिएको झै गरेर निवासमै बरु दिनभर सुतेर बसे, तर नेकपा विवादमा ओलीलाई फाल्न कम्मर कसेरै जुटेनन् ।

उनले नेकपाको विवाद निरुपण नभएको, पहिले पार्टी विभाजित हुनुपर्ने नत्र अहिले नै काँग्रेसले नेकपाभित्रको घर झगडामा पर्न नहुने भन्दै आफ्नाहरुलाई टार्दै र छल्दै आए । देउवाको यो खालको प्रवृति देखेपछि कतिपय काँग्रेसले नै अनुमान लगाउन थाले, कतै देउवा भित्रभित्र ओलीसँगै त मिलीसकेका छैनन् ? 

हुन पनि त्यस्तो आशंका गर्नु स्वभाविक नै थियो । ओलीको ३ वर्षे सत्ता रोहणमा काँग्रेस कहिल्यै दरिलो प्रतिपक्षी बन्न सकेन् । बरु नेकपाभित्रकै प्रचण्ड नेपाल समुहका नेताहरु ओलीका प्रतिपक्षी देखिएका थिए । ओलीसँग मिलेर देउवाले भागवन्डामा सम्झौता गरेको आरोप उनीमाथी थियो । तर उनी देखे नदेखे, सुने नसुनेझै बसेका थिए । तर, जब सर्वाेच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेलसँग रहेको भन्दै एमाले र माओवादी केन्द्रलाई एकतापूर्वको अवस्थामा ब्ँयूताईदिने निर्णय लियो, त्यसपछि भने देउवा अहिले ओलीलाई बिदाई गर्न तात्तिन थालेका छन् । 

अदालतले एमाले र माओवादी केन्द्र ब्ँयूताईदिएपछि अब चार तरिकाले सरकार बन्ने अवस्था संसदको अंकगणितले देखाएको छ । तीन वटा ओली स्वंमले आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने देखिएको छ भने अर्काे एउटा मात्रै तरिका देउवाले माओवादी केन्द्र र जसपालाई पनि साथमा लिएर बनाउन सक्ने अवस्था देखिएको छ ।  यसले पनि देउवा ओलीलाई सरकार बन्न दिने तीन विकल्पलाई तोडेर आफ्नै नेतृत्वमा सरकार बनाउने गरी चौथो विकल्पको रुपमा अगाडी बढ्न खोजेका छन् ।

देउवा निकट काँग्रेसका एक केन्द्रीय सदस्यले सफलखबरसँग भने,–सभापति ज्यू माओवादी केन्द्र र जसपालाई मिलाएर अब आफ्नै नेतृत्वमा सरकार गठनको भित्री तयारीमा सक्रियतापूर्वक लागिसक्नुभएको छ ।’ देउवा अहिले दुई तिहाईको जनमत पाउदा सम्म ओलीले सरकार राम्रोसँग हाँक्न नसकेको भन्दै आफ्नै नृेतृत्वमा सरकार बनाउने र छिटो भन्दा छिटो चुनाव गराउने मिसनमा लाग्न चाहेको पनि ति नेताले बताए ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उपयुक्त समय बल्ल आएको भन्दै देउवाले ओलीविरुद्ध अब अविश्वास प्रस्ताव लैजानुपर्ने बताउन थालेका छन् । त्यसो त माओवादी केन्द्रले ओलीसँग आफ्नो पार्टीको विश्वास नरहेको भन्दै विश्वासको मत फिर्ता लिएमा एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने गरी ओलीलाई खेल्न नदिई एकैपटक माओवादी केन्द्र र जसपासँग मिलेर अविश्वास प्रस्ताव नै ल्याएर आफ्नो नेतृत्वको सरकार गठनको तयारीमा देउवा अहिले भित्री रुपमा जुटेका छन् ।

सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्छ । तर संसदमा काँग्रेसका ६३ सांसद छन् । त्यसमध्ये पनि विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बनमा छन् । यो अवस्थामा काँग्रेससँग अहिले ६१ सांसद मात्र छन् । अविश्वास प्रस्ताव दर्ता गर्न ६८ मत आवश्यक पर्छ । यसोहुँदा अविश्वास प्रस्ताव दर्ता गराउन पनि काग्रेसलाई थप ७ सांसदको आवश्यकता पर्छ । यसमा उसले माओवादी केन्द्र र जसपाका नेताहरुलाई मनाउन चाहेको छ ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको संसदको तेस्रो दल माओवादी केन्द्रका ५३ सांसद छन् । यीमध्ये अग्निप्रसाद सापकोटा सभामुख छन् । ५२ सांसदमध्ये चार जना प्रधानमन्त्री ओलीतिर छन् । अहिले मन्त्री रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी फर्केनन् भने माओवादी केन्द्रसँग ४८ जना सांसद हुनेछन् । यस्तै समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टीमा ३४ सांसद छन् । यीमध्ये हरिनारायण यादव र रेशम चौधरी निलम्बनमा छन् । त्यस अर्थमा जसपासँग ३२ सांसद छन् ।

कांग्रेसको ६१, माओवादी केन्द्रको तत्काल देखिएका ४८ र जसपाका ३२ जना सांसद गठबन्धनमा आए भने १४१ सांसद संख्या पुग्छ । यो संख्याले बहुमतको सरकार बनाउन पुग्छ । देउवाले अहिले त्यही अंकगणित हेरेर ओली सरकारलाई अब बिदाई गर्ने सोच बनाएको काँग्रेसका ति नेताले बताए । सरकारको नेतृत्वमा रहने, पार्टी महाधिवशेन पनि गर्ने र आफ्नै नेतृत्वमा चुनाव पनि गराउने अवस्था आए पार्टीमा पनि आफुले फेरि पनि सभापति जित्ने, पार्टीलाई चुनावमा पनि पहिलो पार्टी बनाएर लैजान सक्ने आंकलन देउवाको छ । त्यही भएर पनि देउवा अहिले नयाँ सरकार गठनमा सक्रिय हुन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस