हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

रासस

सोमबार, २४ फागुन २०७७, १८ : ४९
हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

काठमाडौं । उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि आजदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ ।

आइतबार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै आज बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ । उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको यहाँका स्थानीयवासीले बताएका छन् । 

जिल्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिहेको स्थानीयवासी शङ्कर रावलले जानकारी दिनुभयो । पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताउनुभयो । बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ । फागुनमा हिमपात हुँदा तापक्रम माइनसमा झरेर चिसो अत्यधिक बढेपछि यहाँका स्थानीयवासी बाक्लो कपडा लगाउनुका साथै न्यानो भएर बसेका छन् ।

अग्लो स्थानमा हिमपात धेरै भएको छ । मानिस हिउँमा खेल्नका लागि घरबाहिर निस्कन थालेका छन् । यो वर्ष गतिलोसँग हिमपात नभएपछि चिन्तामा रहेका किसान भने खुशी देखिएका छन् । खडेरी परेका बेला हिमपात भएको हो । बिहानैदेखि परेको हिमपातले कात्तिके बालीनालीका लागि राम्रो हुने भएको छ । यो पटक परेको हिमपातले खनजोत गर्न किसानलाई सजिलो हुने भएको छ ।

हिमपात रोकिए लगत्तै यहाँका किसानले अब खेतबारीमा कात्तिकमा उब्जनी हुने बाली कोदो, फापर, सिमीलगायत बाली लगाउने भएका छन् । यो हिमपात यो वर्षको चौथो हिमपात भए पनि भारी हिमपात हुन सकेको थिएन । 

प्रतिक्रिया दिनुहोस