कसले पाउला नेकपा नाम ? सर्वोच्च अदालतले आज फैसला गर्दै

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, ११ : १०
कसले पाउला नेकपा नाम ? सर्वोच्च अदालतले आज फैसला गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ। फागुन २० गते विहीवार निर्णय सुनाउने मिति तोकिए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्चसहित सबै अदालतमा दिइएको शोक विदाले फैसला सरेको थियो।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोके पनि अदालत बिदा भएपछि फैसला आएको थिएन ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उक्त नाममा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाले विवाद गरेको थियो ।

आफ्नो पार्टीको नाममा अर्को पक्षलाई बैधता दिएको भन्दै निर्वाचन आयोग र सत्तारूढ नेकपाविरूद्ध कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

२०७५ मंसिर २१ गते दायर भएको यो रिटमा सर्वोच्चले २०७५ मंसिर २५ गते कारण देखाउ आदेश दिएको थियो । त्यसयता पटकपटक पेशी तोकिए पनि अन्तिम समयमा स्थगित हुँदै आएको मुद्दामा सर्वोच्च अदालतले  लामो प्रतीक्षापछि फैसला दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस