काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह)का नेता दीपक अधिकारीलगायतलाई स्वागत गर्दै उहाँले केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक भएको बताउनुभयो । शान्तिपूर्ण बाटोमा नेत्रविक्रम चन्द समूह पनि आएकामा प्रशन्नता व्यक्त गर्दै उहाँले भन्नुभयो, “मैले धेरै पहिल्यै भनेको थिएँ, उहाँहरू (चन्द समूह) शान्तिपूर्ण बाटोमा आउनुहुनेछ । उहाँहरू आउनुभएको छ । म उहाँहरूलाई यही पार्टीमा स्वागत गर्न आतुर छु ।”
पछिल्लोपटक प्रतिनिधिसभाको विघटनपछि देशभर आएको जनताको उभार, प्रतिगमनविरुद्ध जनताले देखाएको समर्थन तथा जनसभाले पनि आफूहरू नै वैधानिक र आधिकारिक रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालले खारेज गरेपछि नेपाली जनता विजयी भएको र त्यसले नयाँ आयाम थपेको स्पष्ट पार्नुभयो । पार्टीमा जोडिन आएका युवालाई उचित जिम्मेवारी दिने उल्लेख गर्दै उहाँले समाजवादी आन्दोलन अगाडि बढाउन ज्ञान र सीपले युक्त शक्ति नै जरुरी रहेको धारणा राख्नुभयो ।
“कम्युनिष्ट आन्दोलन वैज्ञानिक आन्दोलन हो र यसले विज्ञानसम्मत दृष्टिकोण र मान्यता राख्ने भएकाले गलत चिन्तनविरुद्ध सङ्घर्ष निरन्तर चल्छ”, उहाँले भन्नुभयो, “चन्द समूहबाट नेकपामा समाहित भएका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्दछु ।”
कार्यक्रममा नेकपाका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिलाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको बताउनुभयो । उहाँले पार्टीको नाम र चुनाव चिह्नको सङ्घर्ष जारी रहेको भए पनि आफूहरूले नै पाउने भएकाले त्यसमा कोही कसैले पनि कर्के नजर लगाउन जरुरी नभएको उल्लेख गर्नुभयो ।
चन्द समूह राजनीतिको मूलप्रवाहमा आए पनि कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा आउन बाँकी रहेकाले उहाँहरूलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो । आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम मौका दिएको भन्दै उहाँले राजीनामा दिएर नैतिकता देखाउन आग्रह गर्नुभयो । कार्यक्रममा चन्द समूहका नेता अधिकारीको नेतृत्वमा २५० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ फागुन २०७७, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँ’: प्रचण्ड
परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन: प्रचण्ड
वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड
निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन: प्रचण्ड
‘प्रचण्ड’ स्वदेश फिर्ता