पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, १४ : ५०
पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो

काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं सास फेर्न थालेका छन् । 

नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको हो । उनकोे उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उनले सामान्य रुपमा सास फेर्न थालेका छन् । ‘यो भनेको अनपेक्षित सुधार हो ।’ डा. झाले भने, ‘जोशीको स्वास्थ्यमा यति चाँडै यति राम्रो सुधार होला भन्ने लागेको थिएन ।’ 

सोमबार बिहानदेखि उनलार्ई मेसिनले सास फेराउने कामलाई घटाउँदै लगिएको थियो । अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको हो । 

सुरुवातमा मष्तिष्कघातका कारण उनकोे बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो । तर, बिहीबार साँझदेखि उहाँले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थालेका छन् । तर, प्यारालाइसिस नै नभएको भनेर भनिहाल्ने अवस्था भने नरहेको चिकित्सकहरुको भनाई छ ।   

बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी(ट्रयाकियोसटोमी) गरिएको थियो । यहीकारण पनि जोशीलाई चाँडै भेन्टिलेटरबाट निकाल्न सकिएको डा. झाले बताए ।
 

प्रतिक्रिया दिनुहोस