झापामा ५८ हजार ज्येष्ठ नागरिकलाई कोभिडशिल्ड खोप लगाइने

रासस

शुक्रबार, २१ फागुन २०७७, १२ : ०६
झापामा ५८ हजार ज्येष्ठ नागरिकलाई कोभिडशिल्ड खोप लगाइने

बनियानी । कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा झापाका ५८ हजार ५१३ ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ । जिल्लाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । जिल्लाका १५ स्थानीय तहमा दुई चरणमा खोप दिन लागिएको हो ।

फागुन २३ देखि २७ गतेसम्म पहिलो चरणमा माईपूर्वका आठ स्थानीय तह भद्रपुर, मेचीनगर, अर्जुनधारा, विर्तामोड, कचनकवल, हल्दिबारी, बाह्रदशी र बुद्धशान्तिका ३४ हजार ४५६ जनालाई खोप दिइने प्रमुख पौडेलले बताए ।

त्यस्तै चैत १ देखि ५ गतेसम्म दोस्रो चरणमा माईपश्चिमका सात स्थानीय तह कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, कमल र गौरीगञ्जका २४ हजार ५७ ज्येष्ठ नागरिकलाई खोप दिइने छ । “शुरुमा जिल्लाका ५५ वर्षमाथिका एक लाख १४ हजार जनालाई खोप दिने लक्ष्य राखेका थियौँ”, उनले भने, “सरकारले खरिद गर्न लागेको ४० लाख डोज खोपमध्ये २० लाख मात्र आएकाले उच्च जोखिममा रहेको उमेर समूहलाई लक्षित गरेर खोप दिन लागिएका हो ।”

खोप लगाउन जिल्लाभर ६० खोप केन्द्र र ३५० स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ भने खोप अभियान पूरा गर्न १५० दिन लाग्ने कार्यालयले जनाएको छ । प्रत्येक पालिकामा एक एमबीबीएस चिकित्सकसमेत परिचालन गरिने जनाइएको छ ।

स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौलागाईँले खोप लगाएपछि कुनै ‘साइडिफेक्ट’ देखिए सोका लागि जिल्लाका चार अस्पताललाई रेफरल सेन्टरका रूपमा तयारी अवस्थामा राखिएको बताए । मेची प्रादेशिक अस्पताल भद्रपुर, मनमोहन हस्पिटल बिर्तामोड, आम्दा अस्पताल दमक र दमक अस्पताललाई रेफरल सेन्टर बनाइएको छ । खोपको असर काट्ने औषधिसमेत स्वास्थ्यकर्मीसँग तयारी अवस्थामा रहने उनले बताए ।

जिल्लामा पहिलो चरणमा ९अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायतलाई० नौ हजार १६७ लाई कोरोनारिुद्धको खोप लगाइएको थियो । तीमध्ये तीन हजार ७९ महिला र छ हजार ८८ पुरुष थिए । सो बेला कसैकसैलाई सामान्य ज्वरो आउने, खोप लगाएको हात सामान्य दुख्नेबाहेक कुनै पनि असर नदेखिएको कार्यक्रम संयोजक चौलागाईँले बताए ।

प्रतिक्रिया दिनुहोस