सरकारसँग सहमति पछि नेत्रविक्रम चन्द (विप्लव) आज काठमाडौंमा सार्वजनिक हुँदैं

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, ०८ : १३
सरकारसँग सहमति पछि नेत्रविक्रम चन्द (विप्लव) आज काठमाडौंमा सार्वजनिक हुँदैं

काठमाडौं । अनौपचारिक सम्वादकै क्रममा कतिपय विषयमा सहमति जुटाई वार्तामा बसेको नेत्रविक्रम चन्द (विप्लव)को पार्टीसँग सरकारको वार्ता सफल भएपछि आज उक्त पार्टीका भूमिगत महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज काठमाडौंबाट सार्वजनिक हुदैछन् । त्यो पनि संसदीय ब्यवस्थाका प्रधानमन्त्री केपी ओलीसँगै एउटै मञ्चमा सम्बोधन गर्ने गरी चन्द सार्वजनिक हुन लागेका हुन् ।

दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा आयोजना हुने विशेष समारोहलाई उनी र प्रधानमन्त्री दुवैले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओली र विप्लवले आज त्यही समारोहमा तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि तय भएको छ । २०७३ फागुन १ मा काठमाडौंमा उक्त पार्टीको महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गरेर भूमिगत भएका विप्लव त्यसयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । सरकारले उनको पार्टीको गतिविधि हिंसात्मक रहेको भन्दै २०७५ फागुन २८ मा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

त्यसपछि त झन विप्लव भूमिगत रहदैं आएका थिए । उनको पार्टीले राजनीतिक विषयमा उठाउँदै आएको एजेण्डामा सरकारसँग कस्तो सहमति गर्यो र वार्ता निमेषभरमै सफल बनायो भन्ने विषय खुलेको त छैन् । तर, आज विप्लवले प्रधानमन्त्री ओलीकै अगाडी गर्ने सम्बोधनका क्रममा उनको राजनीतिक मागका बारेमा भएका सहमतिका विषय पनि खुलाउने अनुमान गरिएको छ ।

गत मंसिर दोश्रो साता विप्लवको पार्टी र सरकारका बीचमा भएको अनौपचारिक सम्वादले वार्तालाई परिणाममुखी बनाउन भूमिका खेलेको थियो । सरकार प्रतिनिधीसभा विघटन पछि चौतर्फी संकटमा परेको र राष्ट्रिय राजनीतिमा ओली एक्लिदै गएपछि उनले विप्लव समुहलाई वार्तामा ल्याएर राजनीतिक कोर्सलाई बदल्न चाहेका थिए । नेकपाका अध्यक्ष प्रचण्डको सेखी झार्ने उदेश्यका साथ उनले विप्लव समुहलाई वार्तामा ल्याउन चासो देखाएका थिए । 

अघिपछि विप्लवको पार्टीको नाम सुन्नै नचाहने र विप्लवको पार्टीले कम्युनिष्ट आन्दोलनलाई नै बदनमा गराईरहेको टिप्पणी गर्ने गरेका ओलीले अहिले विप्लवसँगको वार्तामा देखाएको मोह पनि आफु कमजोर भएपछिको परिणाम भएको जानकारहरु बताउँछन् । उता विप्लव समुहलाई पनि पार्टी प्रतिबन्धले निक्कै अप्ठयारो पारेको थियो । कतिपय नेताहरु बन्दी हुनु, भएका कार्यकर्ता निष्किृय रहदै जानु र नयाँ कार्यकर्ता उत्पादन नहुनुले निक्कै चोट परेको थियो ।

आर्थिक रुपमा पनि नाकाबन्दी लाग्नु, सञ्चार प्रविधिले विप्लवले सोचेको जस्तो सम्भावना नदेखिनुले पनि विप्लव जसरी पनि शान्तिपूर्ण राजनीतिमा आउन चाहेका थिए । कमजोर दुवै पक्षको आ–आफनो स्वार्थ केन्द्रीत राजनीतिले दुवै पक्षलाई वार्तामा ल्याउन भूमिका खेलेको थियो । त्यही भएर दुवैले अनौपचारिक सम्वाद गरी वार्ता सफल बनाएका हुन् । त्यसपछि नै विप्लव आज काठमाडौंबाट सार्वजनिक हुन लागेका हुन् ।  

प्रतिक्रिया दिनुहोस