क्षयरोग के हो र कसरी बच्न सकिन्छ ?

शनिबार, १० चैत्र २०७४, १३ : १४
क्षयरोग के हो र कसरी बच्न सकिन्छ ?

क्षयरोग अर्थात टिबी रोग । धेरैलाई थाहा छ, यो एक सरुवा रोग हो । क्षयरोग कसरी लाग्छ, यसका लक्षण केकस्ता हुन्छन् भन्ने विषयमा भने धेरैलाई जानकारी नहुन सक्छ । दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो । क्षयरोगका यसबाहेक पनि अन्य धेरै लक्षण छन् । यी लक्षण हेरेर क्षयरोग लागे/नलागेको थाहा पाउन सकिन्छ ।

सामान्यतया क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ ।

नेपाल नागरिकको मृत्यु हुने विभिन्न सरुवा रोगमध्ये क्षयरोग छैठौं स्थानमा परेको छ । विश्व स्वास्थ्य संगठनले नेपालमा वर्षेनी ६० हजार भन्दा बढी व्यक्ति क्षयरोगवाट संक्रमित हुने अनुमान गरेको छ भने ४४ हजार भन्दा बढी व्यक्तिहरुमा फोक्सोको क्षयरोग संक्रमण भएको अनुमान गरिन्छ । स्वास्थ्य सेवा विभागको आ.व. २०७२/७३ को प्रतिवेदन अनुसार क्षयरोगवाट झण्डै ३३ हजार जति फोक्सोको (पल्मोनरी)क्षयरोगका विरामी पाइएका छन् भने झण्डै १८ हजार जति नयाँ र छिपेका क्षयरोगका बिरामी पाइएका छन् । ९ हजार जति फोक्सो बाहिरको (एक्सट्रा पल्मोनरी) क्षयरोगवाट संक्रमित भएका पाइएका छन्  । करिब एक हजार जतिको क्षयरोगवाट मृत्यु भएको पाइएको छ।

तर सन् २०१६ सम्ममा क्षयरोगबाट झण्डै ६ हजार जति बिरामीको मृत्यु भएको छ । तर क्षयरोगको निदान ७० प्रतिशत मात्र हुने गरेको पाइएकोले पहिचान हुन बाँकी क्षयरोगवाट संक्रमितहरुको संख्या अति धेरै भएको सजिलै अड्कल गर्न सकिन्छ । सन् २००१ देखि  देशभरि प्रत्यक्ष निगरानीमा औषधि गरिने (डट्स) प्रणाली लागु भइसकेको छ, यति महत्वपूर्ण उपचार प्रणाली कार्यान्वयनमा आउँदा पनि क्षयरोगका विरामीको पहिचान, परीक्षण, उपचार व्यवस्थामा कमी आएको छ।

क्षयरोगको लक्षण
-क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ ।

-रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । यो क्षयरोगको संकेत पनि हुनसक्छ ।

-क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ ।

-क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

-क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।

रोकथामरनियन्त्रणका उपाय
क्षयरोग अत्यन्त जटिलखालको सरुवा रोग हो। यसले बालबालिकादेख सवै उमेरकालाई, घरमा, स्कूलमा, कामगर्ने कार्यालय वा स्थानमा र भीडभाड हुने सार्वजनिक स्थानमा संक्रमण गर्न सक्दछ । तर निम्नलिखित उपाय अपनाएमा यसलाई सजिलै रोकथाम/नियन्त्रण गर्न सकिन्छ :
१.सूर्ति मिसाएर वनेका कुनैपनि पदार्थ सेवन नगर्ने । शुरु गरेको भए तुरुन्तै छोड्ने ।
२.अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन नगर्ने ।
३.शिशु जन्मनासाथ सकेसम्म चाँडै तर एकवर्षभित्र बि.सि.जी खोप दिने ।
४.दुई हप्ता भन्दा लामो समयसम्म खोकी र ज्वरो आउनासाथ नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्ने
५.स्वास्थ्यकर्मीको परामर्श लिई नियमितरुपमा पूरा समय(६ देखि ८ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने ।
६.औषधि सेवन गर्न शुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार समय–समयमा परीक्षण गर्ने । ७.क्षयरोगको औषधिसंगै स्वास्थ्यकर्मीको सल्लाह अनुसार अन्य रोगका औषधि सेवन गर्ने ।
८.स्वस्थ जीवन विताउन क्षयरोगीले अनिवार्यरुपमा एच.आई.भी.परीक्षण गर्ने र एच.आई.भी संक्रमितले अनिवार्यरुपमा क्षयरोगको परीक्षण गर्ने ।
९.क्षयरोगका विरामीलाई घरपरिवार, आफन्त वा स्याहारकर्ताले राम्रोसंग स्याहार, मायाँ–ममता र सरसफाईमा ध्यान दिने ।
१०.सधैं खाइरहने, घरमै तयार गरेका खाद्यपदार्थ, हरिया तरकारी, दूध, फुल, गेडागुडीकारस ख्वाउने ।

प्रतिक्रिया दिनुहोस