सेवा शुल्क उल्लेख नभए प्रमाणीकरण नहुने

पत्रपत्रिकाबाट

विहीबार, २० फागुन २०७७, ०८ : १९
सेवा शुल्क उल्लेख नभए प्रमाणीकरण नहुने

काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले नेपाली श्रमिक लैजान वैदेशिक रोजगार कम्पनी (म्यानपावर)लाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगर्ने कतारका रोजगारदाताको मागपत्र प्रमाणीकरण नहुने जनाएको छ। 

दूतावासले सूचनामार्फत मङ्गलबारदेखि वा मार्च १ तारिखदेखि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताको मागपत्र प्रमाणीकरण नगर्ने जनाएको हो। नेपालबाट श्रमिक पठाएबापत रोजगारदाताले नै म्यानपावरलाई सेवा शुल्क उपलब्ध गराउँछन् तर नेपालमा भने श्रमिकले नै म्यानपावरलाई मागेजति रकम उपलब्ध गराउनुपर्ने बाध्यता छ। 

यसअघि मागपत्र प्रमाणीकरणका लागि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख गर्नुपर्ने व्यवस्था थिएन। अब भने यो व्यवस्था लागू भइसकेको भन्दै दूतावासले अनिवार्य रूपमा मागपत्र ल्याउँदा रोजगारदाताले म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क पनि उल्लेख गर्नुपर्ने जनाएको छ तर यो नियमप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। यस्तै साउदीमा रहेको नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणको काम स्थगित भएको छ।गोरखापत्रमा खबर छ ।