रसुवागढी नाका नखुल्दा व्यापार प्रभावित

सफल खबर संवाददाता

सोमबार, १७ फागुन २०७७, १४ : ३६
रसुवागढी नाका नखुल्दा व्यापार प्रभावित

काठमाडौं । चिनियाँहरुको पर्व ल्होसारका कारण  रसुवागढी नाका १८ दिनदेखि बन्द छ । नाका ठप्प हुँदा सो नाका भएर हुने व्यापार प्रभावित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

माघ २९ गतेबाट केही दिनका लागि भन्दै बन्द गरिएको नाका अझै सञ्चालनमा नआएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले  बताए ।नाका १८ औ दिनमा पनि बन्द रहेको र नाका खुल्नेबारे चिनियाँ अधिकारीहरुले हालसम्म कुनै जानकारी नगराएको भन्सार प्रमुख रेग्मीको भनाइ छ ।

‘नाका १८ औं दिनमा पनि बन्द छ, कहिलेदेखि नाका सञ्चालनमा आउँछ भन्नेबारे अहिलेसम्म हामीलाई चिनियाँ पक्षले जानकारी गराएको छैन,’ भन्सार कार्यालय प्रमुख रेग्मीले केरुङबाट भने ।

नाकाको गेट बन्द रहेको र चिनियाँतर्फको भन्सारबाट कुनै पनि सूचना नेपाललाई नदिइएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । सामान्य अवस्थामा बिहान ८ बजे नाका खुल्ने र चिनियाँ कन्टेनरहरुले सामान ल्याएर नेपालतर्फ छोड्ने गरेकोमा अहिले नाका ठप्प रहेको कार्यालयले जनाएको छ ।

नाका सञ्चालनको अनिश्चितताले गर्दा गर्मीको सामान समयमै नआउने चिन्ता थपिएको हिमालय सीमापार व्यापार संघले जनाएको छ । नेपाली व्यवसायीले खरिद गरेका झण्डै ४ सय कन्टेनर सामान अझै नेपाल आउने क्रममा रहेका संघका निवर्तमान अध्यक्ष विष्णु खत्रीले बताए ।

फलफूल लगायतका कुहिने सामानहरु ल्हासाबाट नेपालतर्फको नाकामा पठाइए पनि लत्ता कपडा लगायतका रेडिमेड सामानहरु अझै ल्हासाको गोदाममा रहेको उनको भनाइ छ ।

तातोपानी र रसुवागढी नाका सहज रुपमा सञ्चालन नभए गर्मीको सामान बजारमा अभाव हुनेसक्ने उनले बताए । हवाई मार्ग भएर आएका सामान उपभोक्तालागि महँगो पर्ने भएकाले स्थलमार्गबाट हुने आयात सहज बनाउन पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

ल्होसार कै कारण माघ मसान्तदेखि बन्द तातोपानी नाका भने १० औं दिनमा गत सोमबारदेखि सञ्चालनमा आएको थियो । कोरोना र प्राकृतिक विपत्तिका कारण यो वर्ष नेपाल चीन स्थलगत मार्गको व्यापार पटक पटक प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस