परीक्षा स्थगित गर्न भरतपुर अस्पताललाई स्वास्थ्य मन्त्रालयको चिठ्ठी

शुक्रबार, ०९ चैत्र २०७४, १९ : ५१
परीक्षा स्थगित गर्न भरतपुर अस्पताललाई स्वास्थ्य मन्त्रालयको चिठ्ठी

चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रबार भरतपुर अस्पताललाई पत्र काटेर पदपूर्तीको काम तत्काल रोक्न र परीक्षा स्थगन गर्न भनेको छ ।
भरतपुर अस्पताल विकास समिति अन्तर्गतको पदपूर्ती समितिले इमर्जेन्सी ल्याब संचालन गर्ने निर्णय गरे बमोजिम अस्पतालले दुई जना ल्याब टेक्निसियन र दुई जना ल्याब असिस्टेण्टको लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापन प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयको स्वीकृति नै नलिई दरबन्दी सिर्जना र विज्ञापन गरी दरबन्दीभन्दा बढी संख्यामा कर्मचारी भर्ना गरेको तथा हाल ल्याब टेक्निसियन र ल्याब असिस्टेण्ट लगायत पदहरुको पदपूर्ती गरिरहेकोले उक्त विज्ञापन रद्द गरी पाउँ भनी मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले भरतपुर अस्पतालको नाममा पत्र काटेर परीक्षा स्थगन गर्नु भनेको हो ।


स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत शम्भुकुमार कटुवालले शुक्रबारको मितिमा भरतपुर अस्पताललाई पठाएको पत्रमा अगाडि भनिएको छ, ‘अस्पताल विकास समितिको स्वीकृत दरबन्दी संख्या, कार्यरत कर्मचारी विवरण र रिक्त दरबन्दी विवरण उपलब्ध गराउनु हुन साथै तोकिएको परीक्षा तत्काल स्थगन गर्नु हुन नेपाल सरकार (सचिवस्तर) को मिति २०७४।१२।०९ को निर्णयानुसार अनुरोध छ ।’
भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले स्वास्थ्य मन्त्रालयबाट परिपत्र आएकोले परीक्षा रोकिने बताउनु भयो । उहाँले अस्पताल विकास समितिको पदपुर्ती समितिले इमर्जेन्सी ल्याब संचालनको निर्णय गरेपछि विज्ञापन गरिएको र मन्त्रालयको परिपत्रपछि परीक्षा रोकिने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस