सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

रासस

शनिबार, १५ फागुन २०७७, १२ : ५९
सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

पाँचधर । पाँचधरको सातवटै गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । केन्द्रीय प्रसारणलाइन विस्तार हुन बाँकी रहेका याङवरक र फालेलुङ गाउँपालिकामा लाइन विस्तार गरी चार्ज गर्ने तयारी गरिएसँगै जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको हो ।

दुवै गाउँपालिकाका मुख्य स्थानमा केन्द्रीय प्रसारण लाइन जोडिएपछि केही सातामै घरघरमा विद्युत् विस्तार हुने नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्रका प्रमुख साजन महर्जनले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्रले याङ्वरक गाउँपालिकाका वडा नं १, २ र ३ मा विद्युत् लाइन विस्तार गरी सोमबारसम्ममा लाइन चार्ज गर्न लागेको छ । विस्तार गरिएको विद्युत् प्रसारण लाइनले जिल्लाको सुदूर उत्तरी क्षेत्र च्याङ्थापु र फलैँचाका विभिन्न बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याउने छ ।

यस्तै आगामी साता फालेलुङमा लाइन चार्ज गर्ने तयारी भइरहेको केन्द्रका प्रमुख महर्जनले बताए । “फालेलुङको क्षेत्र निकै ठूलो भएकाले छिट्टै विद्युत् विस्तार गर्ने प्रक्रियामा पु¥याउँछौँ”, महर्जनले भने । 

फालेलुङको वडा नं ३ देखि ८ सम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने तयारी गरिएको हो । सो गाउँपालिकाका बाँकी दुईटा वडामा सहकारीले विद्युतीकरणको कार्य अगाडि बढाएको छ ।

जिल्लाका हिलिहाङ, फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा एक वर्षअघि नै केन्द्रीय विद्युत् प्रसारण लाइन जडान भइसकेको छ । यी गाउँपालिकाका कतिपय स्थानमा प्राधिकरणको वितरण केन्द्रले विद्युत् जडान गरेको छ भने केही स्थानमा सहकारीले विद्युतीकरणको कार्य अगाडि बढाएका छन् ।

 फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकामा भने दशकअघि नै फिदिममै उत्पादित विद्युत् जडान भएको थियो । स्थानीय तहका सबै घरमा भने विद्युत् जडान हुन सकेको छैन ।

केन्द्रीय प्रसारण लाइन विस्तार हुन बाँकी दुई गाउँपालिकामा समेत लाइन विस्तार भएपछि जिल्लाका सबै घरमा विद्युत् विस्तार गरी पूर्ण विद्युतीकरण भएको जिल्ला घोषणा गर्ने तयारीसमेत अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस