सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानियले गरे सडक अवरोध

रासस

विहीबार, १३ फागुन २०७७, १२ : ५६
सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानियले गरे  सडक अवरोध

वीरेन्द्रनगर । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन् । 

वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि निर्माणमा बेवास्ता गरेकाले यातायात अवरुद्ध पारेका हुन् । स्थानीयवासीले सडकमा ठूल्ठूला ढुङ्गा राखेर, तारजाली लगाएर सडक अवरुद्ध पारेका छन् । 

वीरेन्द्रनगर नगरपालिकाका अनुसार पिके कन्ट्रक्शनले निर्माणको जिम्मेवारी लिएको उक्त सडकको आगामी चैत मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्नेछ । गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कार्यादेश भए पनि कोभिड–१९ का कारण निर्माणकार्यमा असर पुगेको भन्दै ठेकेदारले आगामी चैत मसान्तसम्म म्याद थपको अनुमति लिएका छन् ।

स्थानीय कुसुम रावलले मुख्य सडककै स्तरोन्नतिमा ढिलाइ हुँदा आफूहरु बाध्य भएर बाटो नै बन्द गरेको बताए । “धूलोले सास्ती दिन थालेको महिनौं भइसक्यो, गाडीबाट ढुङ्गा उछिट्टएर बालबालिका घाइते हुनुका साथै पसलका सामानमा समेत क्षति पुगिरहेको छ”, उनले भने , “निर्माण व्यवसायीले तत्काल निर्माणको काम अघि नबढाउँदासम्म सडक सञ्चालन गर्न दिनौंँ ।” प्रदेश सरकारको आर्थिक सहयोगमा वीरेन्द्रनगर उपत्यकाभित्र विभिन्न ३६ सडकको निर्माण तथा स्तरोन्नति कार्य भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले ठेकेदारलाई तत्काल पानी छर्केर धूलो व्यवस्थापन गर्न लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस