सर्वोच्च अदालतमा प्रधानसेनापतिको १ घण्टा,  ‘संवेदनशील समयको अर्थपूर्ण भेट’

पत्रपत्रिकाबाट

मंगलबार, ११ फागुन २०७७, ०७ : ३८
सर्वोच्च अदालतमा प्रधानसेनापतिको १ घण्टा,  ‘संवेदनशील समयको अर्थपूर्ण भेट’

काठमाडौं । कूटनीति र सुरक्षा क्षेत्रमा ‘टाइमिङ’ र ‘स्पेस’ को महत्त्व कति हुन्छ, यसबारे प्रधानसेनापति पूर्णचन्द्र थापा जानकार नहुने कुरै भएन । नेपाली सेनामा त यसबारे पढाउने र सिकाउनेसमेत गरिन्छ । तैपनि सेनापति थापाले सोमबार दिउँसो यो विषयलाई खासै मतलब राख्न चाहेनन्, जसलाई लिएर सार्वजनिक वृत्तमा चर्चा सुरु भएको छ ।

सोमबार दिउँसो करिब सवा १ बजे थापा जंगीअड्डाबाट निस्केर नजिकै रहेको सर्वोच्च अदालतमा पुगी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग करिब १ घण्टा भेटवार्ता गरे । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमाथि प्रतिनिधिसभा विघटनको पक्ष वा विपक्षमा निर्णय लिनुपर्ने निर्णायक दबाब परिरहेका बेला सेनापति अन्य कारण देखाउँदै अदालतभित्र छिरेका हुन् ।

सेनाका बहालवाला एवं पूर्वअधिकारीहरूका अनुसार यस्तो दृश्य यसअघि कहिल्यै देखिएको थिएन । ‘मैले सेनामा ३० वर्ष काम गरें, अहिलेसम्म यस्तो घटना कहिले पनि देखेको थिइनँ,’ एक सैनिक पदाधिकारीले भने । सर्वोच्च अदालतका पूर्वन्यायाधीश, पूर्वरक्षामन्त्री, सुरक्षाविद्लगायतले त्यसलाई ‘संवेदनशील समयको रहस्यमय एवं अर्थपूर्ण भेट’ को संज्ञा दिएका छन् ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस फागुन ७ गते सकिएपछि अब केही दिनमै त्यससम्बन्धी फैसला सुनाइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फैसला आफ्नो प्रतिकूल आएमा अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने सार्वजनिक घोषणासमेत गरेका छन् । कान्तिपुरमा खबर छ ।