अदालतमाथि प्रधानमन्त्रीकै धम्की !

उपराष्ट्रपतिदेखि सभामुखसम्मलाई कटाक्ष

सफल खबर संवाददाता

आइतबार, ०९ फागुन २०७७, ०८ : ३८
अदालतमाथि प्रधानमन्त्रीकै धम्की !

काठमाडौँ । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्दा समेत अनेक तर्ककै आधारमा संवैधानिक निकायलाई जित्न सकिन्छ र जित्न सकिएन भने पनि प्रभावमा पारेर आफ्नै पक्षमा निर्णय गराउन सकिन्छ भन्ने ठानेका प्रधानमन्त्री केपी ओली तीन दिन यता निक्कै बर्बराउन थालेका छन् ।

निर्वाचन आयोगदेखि सर्वाेच्च अदालतसम्मले आफैँलाई साथ दिने ओलीलाई लागिरहेको छ । तर परिस्थिति उनी अनुकूल नहुने देखेपछि अहिले ओली सार्वजनिक सभाहरुबाटै बर्बराउन थालेका छन् । निर्वाचन आयोगमा ओलीले प्रमुख आयुक्तदेखि आयुक्तहरुसम्म सबै आफ्नो पक्षलाई लगेर राख्दासमेत आयोगले उनको अल्पमतको गुटलाई पार्टीको आधिकारिकताको मान्यता दिन सकिरहेको छैन ।

आयोगले ओलीकै पक्षमा निर्णय दिन खोजे पनि आयोगलाई सजिलो छैन । राजनीतिक दलसम्बन्धी ऐनले पार्टी विवादमा आधिकारिकता दिँदा विवाद अगाडिको केन्द्रीय समितिको बहुमत पक्ष जता छन, त्यतैले आधिकारिकता पाउने कानुनी ब्यवस्था छ । स्वयम निर्वाचन आयोगले नै नेकपाको केन्द्रीय समिति ४४१ सदस्यीय रहेको बताइसकेको छ । जसमा ओली एक तिहाइको संख्यामा पनि छैनन् । आयोगले ओलीलाई साथ दिए पनि कि दुबैलाई सूर्य चिन्ह नदिई फ्रिज गराउने बाहेक अर्काे बाटो छैन ।

त्यसो गर्दा पनि आयोगको निश्पक्षतामा गम्भीर प्रश्न चिन्ह उठ्ने देखिएको छ । उता अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनको मुद्दामा समेत ओली पक्षका वकिलहरु निक्कै रक्षात्मक अवस्थामा पुगेका छन् । उनीहरुले ओलीले प्रतिनिधिसभा विघटन गर्न पाउने संवैधानिक व्यवस्था अदालतमा देखाउन र कानुनी धाराको व्याख्या गर्न सकिरहेका छैनन् । सर्वाेच्चले यस मुद्दामा सहयोगीका रुपमा गठन गरेको एमिकस क्यूरीका ५ सदस्यमध्ये पनि ४ जना विघटनको विपक्षमा उभिएपछि अहिले ओली निक्कै तरंगित हुन थालेका छन् ।

त्यसमाथि उपराष्ट्रपति नन्दवहादुर पुनले सार्वजनिक सभामै पत्रकारहरुको भेलामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको र असंवैधानिक रुपमा विघटन भएको बताइदिएपछि थप प्रेसरमा ओली परेका छन् । यस्तो बेला विगत केही दिनयता ओली सार्वजनिक मञ्चमै बर्बराउन थालेका छन् । ओलीले ७ फागुनमा टुँडिखेलको प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममै उपराष्ट्रपति पुनसँग मञ्चमै केहीबेर भनाभन चलेको थियो । उनले उपराष्ट्रपतिलाई प्रधानमन्त्रीको कदममा टिप्पणी गर्न मिल्छ ? भन्दै आक्रोश पोखेका थिए । तर उपराष्ट्रपतिले पनि तपाइँलाई असंवैधानिक कदम चाल्न संविधानले कहाँ दिन्छ ? भन्दै प्रतिप्रश्न गरेपछि दुईबीच केहीवेर मञ्चमै भनाभन चलेको थियो ।

ओलीले निर्वाचन आयोगले सहज आफूलाई साथ दिने ठाने पनि आयोगले त्यो हिम्मत नदेखाएपछि आयोगप्रति पनि असन्तुष्टि पोखेका छन् । उनले शुक्रबार आयोगप्रति टिप्पणी गर्दै भनेका थिए, ‘२०४७ मा मैले नै हो एमालेको सूर्य चिह्न वैधानिक रूपले दर्ता गराएको । मैले धेरैपटक सूर्य चिह्नबाट चुनाव लडेको छु । तर, प्रचण्डले एकपल्ट पनि लडेका छैनन् । एकपल्ट पनि चुनाव नलड्ने अनि सूर्य चिह्न दाबी गर्ने ? चुनाव चिह्न हामीले नै पाउँछौँ । नपाउने कुनै कारण छैन । कुनै पनि जालझेल, सेटिङ भए हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।’

भोलिपल्टै विराटनगर पुगेर ओलीले सर्वाेच्चलाई पनि धम्की दिएका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर आफूले भनेअनुसार नै अदालतले निर्णय नदिए आन्दोलन गर्ने भन्दै ओलीले धम्की दिएका छन् । ‘सर्वोच्च अदालतले कुनै अकल्पनीय फैसला गर्ने कुरा सोच्न पनि सकिँदैन । सम्मानित सर्वोच्च अदालतले देशभरि भएका सभाहरूलाई हेरेको होला, यस्ता सभाहरूबाट प्रकट जनमतको विश्लेषण गरेको होला । तपाईंहरू निर्धक्क चुनावको तयारीमा लाग्नोस् । त्यसविपरीत सेटिङमा प्रतिनिधिसभा पुनस्र्थापना भयो भने हामी आन्दोलन गर्नेछौँ ।’ ओलीले विराटनगरको कार्यक्रममा भने ।

उपराष्टपति पुनदेखि सभामुख अग्नि सापकोटासम्मलाई पनि उनले सार्वजनिक सभावाटै कटाक्ष गरेका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर संवैधानिक पदाधिकारीलाई सार्वजनिक मञ्चवाट हुर्मत लिने काम ओलीले गरेका छन् । शनिबार विराटनगरको सभामा उनले त्यही हर्कत देखाएका छन् ।

‘उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभएको छ, उहाँको पदले भाषण गरेर सरकारको विरोध गरेर हिँड्ने अनि संविधान मिचियो, प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्ने हो ? उहाँ त चुनाव नगर्ने नै पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसेकम चुनावतिर आउनुहोस् ।’ ओलीले उपराष्टपति माथि कटाक्ष गरेका थिए ।

ओली केही दिन यता कतै आफूले चालेका कदममा सर्वाेच्चदेखि निर्वाचन आयोगसम्मले विपक्षमा निर्णय दिने त होइन ? भन्नेमा निक्कै रन्थनिन थालेका छन् । त्यही क्रममा उनले संवैधानिक निकायलाई सार्वजनिक मच्चबाट धम्कीको शैलीमा तर्साउन थालेका छन् । आफनो कदमलाई अवैध भए पनि वैद्य बनाउन संवैधानिक अंगका पदाधिकारीलाई धम्काउने, तर्साउने र आफनो प्रभावमा पारेर सेटिङ मिलाउन खोजेका प्रधानमन्त्री ओलीले आफनो सेटिङ काम नलाग्ने हुँदै जान थालेपछि संवैधानिक निकायले उनको असंवैधानिक कदम सच्चाउन खोज्दा अहिले आफैले सेटिङ देख्न थालेका छन् ।

कागले आफनो नाम आफैँ भनेजस्तै आफैँ संवैधानिक अंगमा सेटिङमा लागेका ओलीले अरुलाई पनि त्यस्तै देख्न थालेका छन् । त्यही भएर पनि ओली अहिले निक्कै बर्बराहट भाषामा सार्वजनिक मञ्चमा अभिव्यक्ति दिन थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस